काठमाडौं । शिवम् सिमेन्टको मुख्य प्रायोजनमा राजधानीमा ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ कार्यक्रम हुने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी भदौ १२ गते सो कार्यक्रम हुने जानकारी गराइएको हो ।
नेपालको व्यावसायिक तथा औद्योगिक क्षेत्रका अग्रणी व्यक्तित्वहरूको सहभागितामा, प्रख्यात अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता डा. उज्जवल पाटनीको प्रस्तुति हुने सो कार्यक्रम व्यवसायमा सफलताको खाका, नेतृत्वदायी क्षमताको विकास, बिक्री रणनीति, ब्रान्ड निर्माण र आधुनिक व्यवसाय सञ्चालनका व्यावहारिक पक्षहरूमा केन्द्रित रहने छ । उक्त कार्यक्रममा नेपालभरका व्यवसायी, युवा उद्यमी, स्टार्टअप संस्थापक तथा उद्योगीहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ । नेपाली व्यवसायी, उद्योगपति, युवा उद्यमी तथा स्टार्टअप प्रतिनिधिहरूलाई आधुनिक व्यावसायिक सोच, रणनीति, नेतृत्व कौशल तथा ब्रान्ड निर्माणजस्ता महत्वपूर्ण पक्षको मार्गदर्शन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागीहरूले व्यावसायिक सफलता प्राप्त गर्न आवश्यक व्यावहारिक रणनीति, कार्यान्वयनका तरिका र उत्प्रेरणादायी विचारहरू प्रत्यक्षरूपमा अनुभूति गर्न पाउनेछन् । कार्यक्रमका संयोजक तथा जिनियस टल्क्सका प्रबन्धक कृष्ण शाहले यस्ता खालका कार्यक्रमले बिजनेसमा थप प्रेरणा र टेवा पुर्याउने बताए । पाटनीले हालसम्म १० हजारभन्दा बढी यस्ता खालका सेमिनारहरु गरेको उनले जानकारी दिए । कार्यक्रममा शिवम् सिमेन्टका सेल्स एन्ड मार्केटिङ हेड निखिल अग्रवालले व्यावसायिक क्षेत्रको विकासका लागि विभिन्न क्षेत्रमा ज्ञान रहेको विज्ञहरुको अनुभवले ऊर्जा प्राप्त हुने भन्दै यस्ता खालका कार्यक्रमहरुमा शिवम् सिमेन्ट सहकार्य गर्न तयार रहेको बताए ।
नेपालमा पहिलोपटक आयोजना हुन लागेको यो संस्करणले व्यावसायिक समुदायलाई सशक्त, सचेत र रणनीतिमूलक बनाउने विश्वास लिइएको छ । यस कार्यक्रमले नेपालमा व्यवसाय सञ्चालनको सोच र दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।