काठमाडौं । पेरु गणतन्त्रका राजदूत जाभियर पाउलिनिचले पर्या–पर्यटनमा नेपालले विश्वलाई नै नेतृत्व गरिरहेको बताएका छन् । यसले दक्षिण अमेरिकी मुलुकहरुलाई समेत प्रेरणा मिलेको उनको भनाइ छ ।
पेरु गणतन्त्रको २०४औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित अवैतनिक दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाल समेत हेर्ने भारतका लागि पेरु गणतन्त्रका राजदूत पाउलिनिचले नेपालले पर्यापर्यटनसहित जलविद्युत् उत्पादनका क्षेत्रमा गरेको प्रयासको प्रशंसा गरे । ‘हामी जलविद्युत्, दिगो पर्वतीय विकास तथा इको–पर्यटनमा नेपालको विश्वव्यापी नेतृत्वको गहिरो प्रशंसा गर्दछौँ,’ राजदूत पाउलिनिचले भने, ‘जसले हाम्रो एन्डियन समुदायलाई प्रेरणा दिएको छ र भावी सहकार्यसँगै एउटा बलियो आधारको रूपमा काम गरेको छ ।’
नेपालका नवीकरणीय ऊर्जा, पूर्वाधार तथा हरित नवप्रवर्तनसम्बन्धी आफ्ना आकांक्षासँग यो प्रयास अझ प्रासंगिक बन्दै गएको उनको भनाइ छ । आफूहरु कृषि, पर्यटन, शैक्षिक, आयुर्वेद र प्राकृतिक चिकित्सालगायतका क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको र त्यसका निमित्त दुई मुलुकका जनताबीचको सम्बन्धलाई अझ मजबुत बनाउन आवश्यक रहेको उनले बताए । कार्यक्रममा नेपालका लागि पेरु गणतन्त्रका अवैतनिक वाणिज्य दूत सुमित अग्रवालले पेरु गणतन्त्रको वाणिज्यदूतको रूपमा सेवा गर्न पाउनु आफ्ना लागि महत्वपूर्ण अवसर रहेको बताए । यस जिम्मेवारी र अवसरलाई दुवै मुलुकको हितमा प्रवर्द्धन गर्ने उनले प्रतिबद्धता समेत जनाए ।
‘नेपाल र पेरु गणतन्त्रबीच बलियो सम्बन्ध रहँदै आएको छ र हामी द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँदै आपसी समृद्धिलाई प्रोत्साहन गर्न चाहन्छौँ,’ उनले भने, ‘दुई देशबीच लगानी, कृषि, पर्यटन, व्यापार तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा बलियो द्विपक्षीय सहकार्य प्रवद्र्धन गर्नमा केन्द्रित गर्नेछु ।’ कार्यक्रममा काठमाडौंस्थित विभिन्न मुलुकका वाणिज्यदूत तथा कूटनीतिक र सामाजिक क्षेत्रका प्रबुद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पेरु गणतन्त्रका स्थानीय परिकार तथा भेषभुषाको प्रदर्शनी समेत गरिएको थियो ।