रुपन्देही – राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाइउडले टालेर बन्द गरिएको खुलासा गरेका छन्।कारागारको अनुगमनपछि आयोगका प्रतिनिधिहरूले जेलभित्र आधारभूत सुविधा अभाव रहेको टिप्पणी गरेका छन्। आयोगकी प्रवक्ता लिली थापाका अनुसार कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएका छन्, पर्याप्त शौचालय छैनन्, र भएका शौचालयको अवस्था समेत अत्यन्त कमजोर छ। थापाले भनिन्, “रविलाई राखिएको ब्लकमा झ्याल टालिएकाले हावा पास हुने अवस्था छैन। कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठूलो गरी दुईवटा पंखा मात्र छन्।” जेल प्रशासनले सुरक्षाका कारण झ्याल टालिएको बताए पनि, आयोगको टोलीले झ्याल खोल्न आग्रह गरेपछि प्रशासनले त्यसका लागि तयारी देखाएको थापाले जानकारी दिइन्।