अमेरिका । संयुक्त राज्य अमेरिकाले चीनमा चिप निर्यात गर्नका लागि एनभिडियालाई अनुमति दिएको छ । अमेरिकी वाणिज्य मन्त्रालयले चिप निर्माता एनभिडियालाई अनुमति प्रदान गरेको रोयटर्सले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाएको छ ।
अमेरिकाले गत महिना अप्रिलमा लगाइएको प्रतिबन्ध हटाउँदै एच२० चिप बिक्रीको बाटो खोलेको थियो । डोनाल्ड ट्रम्प राष्ट्रपतिमा आउनुअघि जो बाइडेन प्रशासनले निर्यातमा लगाएको कडाइ खुला भएको हो ।
एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङले बुधबार मात्रै ट्रम्पसँग भेटेका थिए । यद्यपि यसबारे ह्वाइटहाउसले केही प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ । कम्पनीले जुलाईमा अमेरिकी सरकारसँग यसबारे कुरा गर्ने बताएको थियो ।
उसले एच२० ग्राफिक प्रोसेसिङ युनिटको बिक्री खुलाउन माग गरेको थियो । त्यतिबेलै कम्पनीले अनुमति पाउने आश्वासन ट्रम्प प्रशासनबाट पाएको थियो । यद्यपि कम्पनीले कतिवटा लाइसेन्स पाएको खुलेको छैन ।