काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छिन् ।
नेपालगञ्ज–दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै सोमबार मन्त्रालयमा पुगेका बाँकेका प्रमुख राजनीतिक दलका नेता, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकारवालासँग उनले सो प्रतिबद्धता जनाएकी हुन् । उनले सो उडानका लागि आफूले पहिलेदेखि नै पहल गरिरहेको पनि जानकारी गराइन् । नेपालगञ्ज दिल्ली उडानको एजेन्डालाई सरकारले पनि प्राथमिकतामा राखेको उनको भनाइ छ । उनले भनिन्, ‘यो उडानले नेपाल र भारतलाई नै पारस्परिक लाभ पुग्ने र कनेक्टिभिटी जति बढाउन सक्यौँ त्यति धेरै नेपाललाई फाइदा पुग्ने भएकाले म यो उडानका लागि लागिपर्नेछु ।’
नेपाल र भारतका बीचमा कनेक्टिभिटी बढाउन सक्दा मात्र पर्यटन, पारवहन, उद्योग व्यापार तथा जनसम्पर्कलगायतमा वृद्धि हुने र यसबाट दुवै पक्षलाई लाभ पुग्ने उनको भनाइ छ । यो उडानले पश्चिम नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने र त्यस क्षेत्रको मुहार नै फेरिने बताउँदै मन्त्री डा राणाले नेपालगञ्जमा पनि होटललगायतका आवश्यक पर्यटन पूर्वाधारहरु बनिसकेकाले नेपालगञ्ज दिल्ली उडानका लागि आफू गम्भीरताका साथ लाग्ने बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यस विषयलाई प्राथमिकताको एजेन्डाका रुपमा समावेश गरिदिन बाँके र बर्दियाका उद्योगी व्यवसायी तथा राजनीतिक दलसहितको सर्वपक्षीय टोलीले मन्त्री डा राणालाई भेटेर आग्रह गरेको हो ।
उनीहरुले नेपालगञ्जलाई ‘मानसरोवर गेटवे’ का रूपमा स्थापित गर्नका लागि नेपालगञ्ज–दिल्ली सिधा उडान अपरिहार्य रहेको बताए । यसबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने उनीहरुको भनाइ छ । सो विमानस्थलबाट प्रतिघन्टा छ सय यात्रुलाई सेवा दिन सकिने र यस उडानका लागि आवश्यक सबै पूर्वाधारहरु निर्माण पनि भइसकेका जानकारी पनि गराइएको थियो ।