काठमाडौ । नेपालले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) क्षेत्रअन्तर्गत पर्ने मुलुकहरुका संसद्बीच साझा धारणा, संवाद र समन्वयका लागि ‘हिन्दुकुश हिमालय संसदीय बैठक’ आयोजना गर्ने भएको छ ।
सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजना तथा इसिमोडको प्राविधिक सहयोगमा आगामी भदौ २ र ३ गते सो बैठक हुन लागेको हो । हिन्दुकुश हिमालय क्षेत्रका देशहरु नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तानसँग जलवायु परिवर्तन, वातावरण प्रदूषण र जैविक विविधताका विषयमा बैठकमा छलफल हुने जनाइएको छ । यस क्षेत्रका मुुलुकका संसद्बीच नीति तथा कानुन निर्माण र दिगो विकासमा ज्ञान, सीप तथा नवीन धारणालाई आदानप्रदान गर्ने उद्देश्यले बैठक आयोजना गर्न लागिएको समितिका सभापति कुशुमदेवी थापाले जानकारी दिइन् ।
समितिले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति थापाले हिन्दुकुश हिमालय क्षेत्रमा रहेका देशहरूका जनप्रतिनिधि, संसदीय समितिका प्रमुख तथा सदस्यहरूसँग जलवायु परिवर्तन, वायुप्रदूषण र वातावरणका विषयमा बैठक आयोजना गर्न लागिएको बताइन् । वन तथा वातावरण, परराष्ट्र मन्त्रालयसँगको आवश्यक समन्वय र राष्ट्रपतिको प्रमुख आतिथ्यता तथा सभामुखको विशिष्ट आतिथ्यतामा बैठक आयोजना हुनेछ ।
विश्व समुदायले भोग्नुपरेका जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषणजस्ता समस्या समाधानको खोजी गर्ने उद्देश्यले हिन्दुकुश राष्ट्रका सांसदहरुलाई एउटै मञ्चमा राखेर छलफल गर्नु यस बैठकको प्रमुख उद्देश्य रहेको छ । बैठक आयोजना गर्न समितिका सदस्य वीरबहादुर बलायरको संयोजकत्वमा प्राविधिक समिति गठन गरीएको छ । सो समितिमा समितिका सदस्य, वन तथा वातावरण, परराष्ट्र मन्त्रालय, योजना आयोगका सदस्य तथा विषय विज्ञहरुले कार्य सम्पादन गरिरहेका छन् । समिति सदस्य एवं प्राविधिक समितिका संयोजक बलायरले समितिले सभामुखसँग परामर्श गरी गर्न लागेको बैठक काठमाडौंको सोल्टी होटलमा हुने जानकारी दिए ।