काठमाडौं । भारतका ३० भन्दा बढी विश्वविद्यालय र कलेजहरूको सहभागितामा राजधानीमा ‘स्टडी इन इन्डिया एक्स्पो’ सम्पन्न भएको छ । दुई दिने प्रदर्शनीमा भारतका प्रतिष्ठित विश्वविद्यालयहरूबाट प्रतिनिधिहरू सहभागी थिए ।
उक्त शैक्षिक मेलामा नेपाली विद्यार्थीहरूका लागि स्नातक र स्नातकोत्तर तहमा दुई सयभन्दा बढी कार्यक्रमहरूको जानकारी दिइएको थियो । अफेअर्स एक्जिविसनका निर्देशक विवेक शुक्लाका अनुसार प्रदर्शनीमा एमिटी युनिभर्सिटी, एलायन्स युनिभर्सिटी, अडामस युनिभर्सिटी, चण्डीगढ युनिभर्सिटी, लवली प्रोफेसनल युनिभर्सिटी, ग्राफिक एरा युनिभर्सिटी, पारुल युनिभर्सिटी, जैन युनिभर्सिटी, एसआरएम युनिभर्सिटीका विभिन्न क्याम्पसहरू, शारदा युनिभर्सिटी तथा भेल्लोर इन्स्टिच्युट अफ टेक्नोलोजी (भीआईटी)लगायतका संस्था थिए । विद्यार्थीहरूले यिनै संस्थाका एड्मिसन टिमसँग प्रत्यक्ष भेटघाट गर्दै स्कलरसिप तथा आवेदन प्रक्रिया बुझ्ने अवसर पाएको उनले बताए ।
साथै, एट्रिया इन्स्टिच्युट अफ टेक्नोलोजी, आरभी युनिभर्सिटी, एस–व्यासा युनिभर्सिटी, सिमेडुजस्ता नयाँ र इनोभेटिभ शैक्षिक संस्थाहरूको सहभागिताले प्रदर्शनीलाई अझ विविध र उद्योगमैत्री बनाएको थियो । एमआईटी वर्ल्ड पिस युनिभर्सिटी (पुणे), पण्डित दीनदयाल इनर्जी युनिभर्सिटी (गुजरात) तथा राजलक्ष्मी इन्जिनियरिङ कलेज (चेन्नई)जस्ता प्राविधिक संस्थाहरू पनि मेलामा सहभागी थिए ।