काठमाडौँ । अन्तरराष्ट्रिय युवा दिवस–२०२५ का अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आइसकेको बताएका छन् ।
राष्ट्रपति पौडेलले समृद्ध नेपाल बनाउने युगीन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम भइसकेका छन् भन्ने आफूलाई विश्वास लागेको बताए । क्रान्ति र परिवर्तनको एउटा कालखण्ड गुज्रेर सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न सफल भएको भन्दै उनले आफू र आफ्नो पुस्ताको युवामय मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म ल्याएर राजनीतिक व्यवस्थालाई एउटा टुङ्गोमा पुर्याउनमै समर्पित रहेको उल्लेख गरे ।
राष्ट्रपति पौडेलले आफू युवा रहेको वखतको सम्झना गर्दै भने, “यो क्षणमा मैले आफ्नो युवावयको कैयन आरोह अवरोहका अनमोल क्षणहरू सम्झिरहेको छु । तनहुँको बाहुनपोखरामा एउटा सामान्य कृषक परिवारमा जन्मिएर अविकास, गरिबी, पछौटोपन र निरङ्कुशताका विरुद्ध मेरो युवा वयमा हुर्किएको क्रान्ति र परिवर्तनको हुटहुटीलाई सार्थकता दिनु सहज थिएन । परन्तु यसका लागि म र मेरो पुस्ताले सङ्घर्ष, त्याग, अभाव, जेलनेलको कुनै पर्वाह गरेन । र, आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म आइपुग्दा हाम्रो जीवन राजनीतिक व्यवस्थालाई एउटा टुङ्गोमा पुर्याउनमै समर्पित रह्यो । क्रान्ति र परिवर्तनको एउटा कालखण्ड गुज्रेर हामी सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न सफल भएका छौँ ।”
उद्यमशीलताका विभिन्न क्षेत्रमा नेपाली युवाले आफूलाई अब्बल प्रमाणित गरिसकेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले प्रविधिसँग अभ्यस्त नेपाली युवालाई स्वदेशमा नै अवसर दिलाउन सरकारले सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानीका लागि वातावरण निर्माण, नवप्रवर्तन र उद्यमशीलताविस्तारलाई प्राथमिकता दिएको बताए ।
राष्ट्रपति पौडेलले विश्वव्यापीकरण र सूचना प्रविधिको तीव्रतर विकासको आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास, सुशासन र समृद्धिको सपनालाई पूरा गर्नु नै आजको मूख्य कार्यभार भएको बताए । उनले उद्यमशीलता आर्थिक विकासको आधार भएको भन्दै युवाको विदेश पलायन रोकेर उनीहरूलाई रोजगारीतर्फ आकर्षित गर्ने उद्यमशीलता विस्तार एवम् प्रवद्र्धनका नीति र कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक रहेको स्पष्ट पारे।
अन्तरराष्ट्रिय युवा दिवस युवा सहभागिता र सशक्तीकरणका लागि साझा उत्सव र ऐक्यबद्धताको आधार भएको भन्दै राष्ट्रपति पौडेलले यसले स्थानीयदेखि अन्तरराष्ट्रिय तहसम्मको युवा सहभागितामार्फत दिगो विकास, एकता र ऐक्यबद्धतालाई जोड दिएको महसुस भएको बताए ।