काठमाडौँ । हात्ती संरक्षण गर्ने उद्देश्यका साथ अगस्त १२ तारिखका दिन विश्वभर हात्ती दिवस मनाइने हुँदा विभिन्न कार्यक्रम गरी नेपालमा पनि हात्ती दिवस मनाइने गरेको छ । पछिल्लो समय खासगरी पूर्वी तराई क्षेत्रमा विविध कारणले मानव–हात्ती द्वन्द्व बढ्दो छ ।
बढ्दो मानव–हात्ती द्वन्द्व र कतिपय स्थानमा मानव बस्ती सुरक्षाका लागि भनेर राखिएका तारबाट करेन्ट लागेर हात्ती मर्ने गरेका छन् । हात्तीको बासस्थानको अतिक्रमणका कारण हात्ती मानव बस्तीमा पस्दा मानवीय, कृषि पशु तथा बाली र घरगोठमा क्षति हुने क्रम बढेको छ ।
हात्तीको आक्रमणबाट सन् २००० देखि हालसम्म नेपालमा ३४५ जनाको मृत्यु भएको छ भने मानिसको आक्रमणबाट तथा करेन्ट लागेर ५५ हात्ती मरेका छन् । यसबाहेक हरेक वर्ष हात्तीबाट हुने कृषि पशु तथा बाली र घरगोठको क्षतिको परिणाम ठूलो छ । खासगरी वन जङ्गल नजिक बस्ने गरिब समुदाय हात्तीको आक्रमणबाट बढी प्रभावित हुने गरेका छन् ।
न्यूनीकरणका लागि प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार वाग्लेले त्यसका लागि साझा धारणा बनाउन मन्त्रालयले सम्बन्धित विकास साझेदार संस्थासँग अन्तरक्रिया गरी सुझाव सङ्कलन गरिसकेको बताए ।
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि मन्त्रालयले हालसम्म क्षति पुर्याउने हात्तीलाई सुरक्षित स्थानमा प्रवेश गराउने, उद्धार र उपचार, क्षतिका लागि राहतको व्यवस्था, सचेतना कार्यक्रम, मृतकका परिवारलाई रोजगार तथा छात्रवृत्ति, वैकल्पिक खेतीको प्रोत्साहनलगायत काम गर्दै आएको प्रवक्ता वाग्लेले बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव एवं हात्तीविज्ञ डा. नरेश सुवेदीले प्रभावित क्षेत्रका मानिसमा बदलाको भावना कम गर्न राहतसम्बन्धी निर्देशिकालाई सरल बनाउनु अपरिहार्य रहेको धारणा व्यक्त गरे । उनले हात्ती द्वन्द्व भएका क्षेत्रमा हात्तीप्रति सकारात्मक व्यवहार बनाउन सके दुई तिहाइ द्वन्द्व न्यूनीकरण हुने बताए । सचेतनामार्फत स्थानीयको व्यवहार प्रतिवर्तन गर्न सके मात्र पनि हात्तीका कारण हुने मानवीय क्षति ७० प्रतिशतसम्म कम गर्न सकिने उनको धारणा छ ।