काठमाडौं । नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाले जग्गाधनी प्रमाण पुर्जा नै नभएको जग्गा किन्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई करोडौँ रुपैयाँ बैना दिएर आर्थिक अनियमितता गरेका छन् ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अनिवार्य अवकाशपछि उनी नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष भएका थिए । उनी बोर्डको अध्यक्ष हुँदा बैंकहरुमा तरलताको अभाव थियो । सोही कारण ब्याज र कमिसनको प्रलोभन देखाएर बैंकहरुबीच भने मुद्दती निक्षेप तान्ने अघोषित होडबाजी चलेको थियो ।
त्यस्तोबेला २०७७ फागुन १२ गते तत्कालीन अध्यक्ष ढुंगानाले धितोपत्र बोर्डको केन्द्रीय कार्यालय बनाउनका लागि प्राधिकरणसँग सहमति गरेर बैना दिएका थिए । उनले जग्गा किन्न बैना दिएको ४२ करोड ५६ लाख रुपैयाँ उनले इच्छाइएका वाणिज्य बैंकको मुद्दती खातामा राखिएको थाहा भएको छ । बोर्डले किन्ने भनेर बैना गरेको जग्गा मनोहरा जग्गा एकीकरण आयोजनाभित्रको हो । उक्त जग्गा अहिलेसम्म पनि मनोहरा जग्गा एकीकरण आयोजनाकै नाममा छ ।
त्यो जग्गाको जग्गाधनीपुर्जा काठमाडौं उपत्यका विकास प्राधिकरणको नाममा बनेकै छैन । तर पनि तत्कालीन कार्यकारी अध्यक्ष ढुंगानाले प्राधिकरणसँग प्रतिआना ३८ लाख रुपैयाँका दरले सात रोपनी जग्गा किन्ने भनेर बैनापट्टा गरेका थिए र बैनाबापत ४२ करोड ५६ लाख रुपैयाँ २०७७ साल चैत ४ गते उक्त बैंकको मुद्दती खातामा जम्मा गरिएको छ । बोर्डले जग्गा किन्न बैनापट्टा गरेको पाँच वर्ष बित्नलाग्दा पनि बोर्डको नाममा आउनु त परै जाओस्, जग्गा बेच्ने काठमाडौं उपत्यका विकास प्राधिकरणको नाममा पनि पुर्जा आएको छैन ।
पाँच वर्षदेखि झण्डै ४३ करोड रुपैयाँ निर्व्याजीरुपमा फस्दा पनि धितोपत्र बोर्डको नेतृत्वले त्यसका बारेमा खासै चासो दिएको छैन । अहिलेका अर्थमन्त्री विष्णु पौडेलको रोजाइमा धितोपत्र बोर्डमा उतिबेला ढुंगाना नियुक्त भएका थिए । अहिले पनि अर्थमन्त्री पौडेलकै रोजाइमा विवादस्पद पात्र सन्तोष नारायण श्रेष्ठ धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् । नियुक्त पात्र फरक भए पनि नीति एउटै भएका व्यक्ति भएकाले बोर्डले अहिलेसम्म आफ्नो डुबेको बैनापट्टाको रकम बारे खोजीनीतिसम्म पनि गरेको छैन । त्यतिबेला बोर्डका कार्यकारी अध्यक्ष ढुंगाना र बोर्डका व्यवस्थापन विभागका प्रमुख निरज गिरीको मिलेमतोमा उक्त अनियमितता भएको देखिएको छ ।
तर अहिलेको बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएका सन्तोष नारायण श्रेष्ठ पनि त्यसैको निरन्तरता भएको र श्रेष्ठअघिका रमेश हमाल पनि त्यसैको निरन्तरता भएकाले बोर्डको त्यत्रो ठूलो रकम डुब्दा र आफ्नै कार्यकालविहीन भएर भाडामा बस्न खुमलटार पुग्नुपर्दा पनि त्यसका बारेमा कसैले खोजीनीति गरेका छैनन् ।