काठमाडौं ,निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को नेतृत्व परिवर्तनको प्रयास अस्वीकार गर्दै वर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठलाई नै पदमा निरन्तरता दिने निर्णय गरेको छ।हिजो सम्पन्न आयोगको बैठकले पार्टीको तर्फबाट अध्यक्षसहित पदाधिकारी हेरफेर भएको विवरण आए पनि प्रक्रिया विधिसम्मत नभएको ठहर गर्दै पुरानै अभिलेख यथावत राख्ने निष्कर्ष निकालेको हो। आयोग स्रोतका अनुसार, “नागरिक उन्मुक्ति पार्टी अध्यक्ष परिवर्तनको मागसहित पत्र आएको थियो, तर प्रक्रिया मिल्दो नदेखिएकाले पुरानै अवस्थाले निरन्तरता दिने निर्णय भयो।” यसअघि, श्रेष्ठ बारम्बार विवादमा परेपछि साउन १४ र १५ गते काठमाडौंमा भएको राष्ट्रिय भेलाले उनलाई अध्यक्षबाट हटाएर लालवीर चौधरीलाई नयाँ अध्यक्ष घोषणा गरेको थियो। सो निर्णयअनुसार आयोगलाई अद्यावधिकको लागि पत्र पठाइएको थियो। तर आयोगले उक्त निर्णयलाई मान्यता नदिँदै पुरानै नेतृत्व कायम राखेको हो।