काठमाडौं । सरकारले चालू आर्थिक वर्षदेखि नै ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू गर्ने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यही वर्षदेखि ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने जानकारी दिए ।
यसको मस्यौदा तयारी भइसकेको उनले बताए । मन्त्रालयले चाँडै कार्यान्वयनको स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गर्ने उनको भनाइ थियो । राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा मंगलबार आयोजित बैठकमा मन्त्री गुरुङले सरकारले २०७६ मा पहिलो चरणको डिजिटल ‘फ्रेमवर्क’ (डिएनफ १)ले ८ मुख्य ‘डोमेन’ र ८० वटा ‘इनिसिएटिभ्स’को फ्रेमवर्क तयार पारेको बताए । दोस्रो चरणको डिजिटल फ्रेमवर्कमा आठ ‘डोमेन’ कृषि, स्वास्थ्य, शिक्षा, सहरी पूर्वाधार, ऊर्जा, पर्यटन, वित्त र डिजिटल ‘फाउन्डेसन’ समेटिएका छन् ।
देशको आर्थिक रुपान्तरण र समृद्धिका लागि महत्वपूर्ण अवधारणाका रुपमा अघि सारिएको डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि एक खर्ब सात अर्ब ५० करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको मन्त्री गुरुङले बताए । डिजिटल फ्रेमवर्कको लक्ष्य पूरा हालसम्म बाह्य सहायता प्राप्त नभएकाले मन्त्रालयले आफ्नै प्रयासमा डिजिटल नेपाल फ्रेमवर्क–२ लागू गर्ने उनको भनाइ छ । यस्तै, उनले डिजिटल नेपाल फ्रेमवर्क–२ का विषयगत क्षेत्रलाई लागू गर्न सम्बन्धित मन्त्रालयसँग साझेदारी गर्ने बताए । मन्त्रालयगत समन्वयका लागि मुख्यसचिवको संयोजकत्वमा समिति गठन हुने उनले जानकारी दिए ।
डिजिटल नेपाल फ्रेमवर्क प्रभावकारी बनाउन मन्त्रालयले तयार पारेको कृत्रिम बौद्धिकता (एआई) को नीतिगत मस्यौदा चाँडै मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने उनले जानकारी दिए । बैठकमा मन्त्री गुरुङले ‘फोरजी नेटवर्क’ घरघरमा पु¥याउनुका साथै यो वर्ष ‘फाइभ जी नेटवर्क’ काठमाडौं र पोखराबाट थालिने पनि बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले नीतिगत र कानुन निर्माणमा भएका प्रगतिबारे जानकारी दिएकी थिइन् ।