नयाँ दिल्ली । म्याकडोनाल्ड र कोका–कोलादेखि अमेजन र एप्पलसम्मका अमेरिकी बहुराष्ट्रिय कम्पनीहरुले ‘बाइकट’ अभियानको सामना गर्ने सम्भावना देखिएको छ ।
रोयटर्सका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थकहरुले अमेरिकी भन्सार शुल्कविरुद्ध यस्तो आवाज उठाउन थालेका हुन् ।
अमेरिकी ब्रान्डहरुको लागि विश्वकै धेरै जनसंख्या भएको भारत ठूलो बजार हो । त्यसमाथि मेटा, ह्वाट्सएपजस्ता डिजिटल प्लेटफर्म र आईफोन निर्माता एप्पलजस्ता स्मार्टफोन कम्पनी मात्र नभई खाद्य तथा पेयपदार्थ उत्पादकहरुका लागि भारत महत्वपूर्ण बजार बन्दै आएको छ । अहिले नै अमेरिकी वस्तुविरोधी अभियानले बिक्रीमा असर नगरे पनि यसविरुद्धका आवाज भने तीव्रतर रुपमा उठिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय वस्तु आयातमा ५० प्रतिशत शुल्क लगाएका छन् । यसले निर्यातकहरुलाई अप्ठ्यारो पार्नुका साथै नयाँ दिल्ली र वासिङटनबीचको सम्बन्धमै दरार ल्याइदिएको छ ।
आइतबार मात्रै प्रधानमन्त्री नरेन्द्र मोदीले आत्मनिर्भर हुन विशेष आग्रह गरेका थिए । ब्यांग्लोरमा भारती प्रविधि कम्पनीहरुसँगको भेलामा उनले अहिलेको प्राथमिकता नै भारतीय आवश्यकतापूर्तिमा केन्द्रित हुनुपर्ने उल्लेख गरेका थिए ।
यता अमेरिकी ईभी निर्माता टेस्लाले यहीबीचमा भारतमा दोस्रो शोरुम सोमबारदेखि सञ्चालनमा ल्याएको छ । अमेरिकी करपछि भारतमा स्वदेशी जागरण मञ्च ग्रुपजस्ता भाजपानिकट संगठनहरुले पछिल्लो समय अमेरिकी वस्तु बाइकटका अभियान चलाउन थालेका हुन् ।