वासिङटन । संयुक्त राज्य अमेरिका र चीनले अर्को ९० दिनलाई व्यापार युद्धविराम लम्ब्याएका छन् । परस्पर देशका वस्तुमा फेरि भन्सार शुल्कवृद्धि हुनु केही घण्टाअगाडि मात्र थप ९० दिनलाई पछि हटेको बीबीसीले जनाएको छ ।
सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १० सम्मका लागि व्यापार युद्धविरामबारे कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यता बेइजिङले पनि यसको समय लम्ब्याएको थियो ।
यसको अर्थ अमेरिकाले चिनियाँ वस्तुमाथिको लेभी ३० प्रतिशतमै राखेको छ भने चीनले अमेरिकी वस्तुमा १० प्रतिशत शुल्क असुल्नेछ । वासिङटनले यही वर्षको सुरुतिर चिनियाँ वस्तुको व्यापार कर १४५ प्रतिशतसम्म पुर्याएको थियो भने चीनले पनि १२५ प्रतिशत जवाफी कर लगाएको थियो । यद्यपि मे महिनामा जेनेभामा भएको व्यापार वार्तापछि दुवै देशले फिर्ता लिएका थिए ।
पछिल्लो पटक थप गरिएको व्यापार युद्धविरामले दुवै देशलाई यससम्बन्धी हुने सहमतिको लागि पर्याप्त समय मिलेको छ । अमेरिकाले गलत व्यापार अभ्यास अन्त्य गरी व्यापारिक सन्तुलन कायम गर्न अधिकांश देशहरुसँग नयाँ सम्झौताको यत्न गरिरहेको छ । सन् २०२४ मा चीनसँग अमेरिकाको व्यापारघाटा ३ खर्ब अमेरिकी डलर छ ।