काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भएका अध्यक्ष अशोक राईले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीसँग कार्यगत एकता गर्ने भएका छन्।दुवै पक्षबीच एकताको लक्ष्यसहित तत्कालका लागि कार्यगत एकता गर्ने सहमति भएको हो। राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले भोलि (बिहीबार) बानेश्वरमा घोषणा सभा राखी कार्यगत एकताको घोषणा गरिने जानकारी दिए। कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। राई उपेन्द्र यादवसँग अलग भएका हुन् भने महतो महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएका नेता हुन्। कुनै समय उपेन्द्र र महन्थ एकै पार्टीमा थिए। महन्थले लोसपा पुनः ब्यूँताए पनि त्यहाँबाट अलग हुँदै राष्ट्रिय मुक्ति पार्टी गठन गरेका थिए भने राईले जसपा स्थापना गरेका थिए। पूर्व सहकर्मी राई र महतोको यो सहकार्यलाई मधेसको राजनीतिमा नयाँ मोडका रूपमा हेरिएको छ। राष्ट्रिय मुक्ति पार्टी मधेस केन्द्रित सात दल सहभागी संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध छ भने जसपा उक्त मोर्चामा छैन।