काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार बनेपछि देशमा विकास निर्माणले गति लिएको दाबी गरेका छन् ।
बुधबार प्रतिनिधिसभामा उनले सांसदहरुलाई पहिले र अहिलेको सरकारले गरेका काम विश्लेषण गर्न आग्रह गरे । सो क्रममा उनले सडक सञ्जालले जोडिन बाँकी हुम्लाको सिमीकोट सडक सञ्जालमा जोडेको, दैलेखमा एक सय १२ अर्ब घनमिटर ग्यास फेला परेको, नवलपरासीको धौवादीमा फेला परेको सय वर्षलाई पुग्ने फलाम खानी उत्खनन् गर्न कम्पनी बनाएको उल्लेख गरे ।
त्यसैगरी, कीर्तिपुर रंगशालामा फ्लडलाइट जडान र प्यारापिट बनिरहेको, संसद्मा सरकारले १८ महिनामा आठवटा विधेयक दर्ता गरेको उल्लेख गरे । अघिल्लो सरकारले सोही अवधिमा छवटा मात्र विधेयक दर्ता गरेको उनको भनाइ थियो । १२ महिनामा अघिल्लो सरकारले १८ महिनामा गरेभन्दा यो सरकारले १२ महिनामा एउटा विधेयक बढी दर्ता गरेको उनले बताए ।
त्यसैगरी, नारायणगढ–बुटवल सडक विस्तार पूर्वीखण्डमा ७० प्रतिशत सकिएको, मुग्लिङ–पोखरा सडक आकर्षक बनेको, मुग्लिङ–नौबिसेमा धमाधम काम भइरहेको, उपत्यकामा फ्लाइओभर र ओभरपास बनेको, तराईलाई काठमाडौं जोड्ने द्रूतमार्गमा द्रूत गतिमा काम भएको उनको दाबी थियो ।
उनले एसईईको नतिजादेखि आर्थिक क्षेत्रमा उत्साहजनक नतिजा आएकोलाई आफ्नो उपलब्धि दाबी गरेका छन् । आफ्नो कार्यकालमा ४.६ प्रतिशत आर्थिक वृद्धि आएको, अर्थतन्त्र चार खर्बले विस्तार भएको उल्लेख गरेका थिए । यसबाहेक उनले उपलब्धिमा राष्ट्र बैंकका सकारात्मक तथ्याङ्कहरुको सापटी लिएका छन् ।