काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौमा चीन र भारत दुवै मुलुकको औपचारिक भ्रमणमा जान लागेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली १४–१८ भदौसम्म पाँच दिने चीन भ्रमणमा रहनेछन्। उनले बेइजिङमा हुने जापानी उपनिवेशविरुद्ध विजयको ८० औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने मिलिटरी परेड र सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा सहभागिता जनाउनेछन्। चीनमा रहँदा ओलीले राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्। त्रिपक्षीय संयुक्त भेटको तयारीसमेत भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। यस्तै, भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा ओली भदौ ३१ गते भारत भ्रमणमा जाने तयारीमा छन्। दुबै भ्रमणको औपचारिक घोषणा भने अझै बाँकी छ।