काठमाडौं । जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि सम्झौता भएको छ । आयोजना निर्माणका लागि प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच बुधबार निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।
प्रवर्द्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले कुल एक सय छ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि जगदुल्ला हाइड्रोपावर र जेसीई÷एएनके जेभीबीच निर्माणसम्बन्धी सम्झौता भएको जानकारी दिए । उनका अनुसार १२ अर्ब १८ करोड रुपैयाँ बराबरको निर्माण सम्झौता भएको हो । यो आयोजना निर्माणका लागि २०८१ जेठमा नै वित्तीय व्यवस्थापन भएको थियो । सो आयोजनाका नबिल बैंकको नेतृत्वमा सहवित्तीयकरणसम्बन्धी सम्झौता भएको थियो । सम्भौताअनुसार नबिल बैंकले चार अर्ब ४० करोड लगानी गर्ने भएको छ ।
यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेस्ट बैंकले लगानी गर्ने छन् । आयोजनामा एचआईडीसीएल र कर्मचारी सञ्चय कोषले समान चार/चार अर्ब रुपैयाँ लगानी गर्ने छन् । यस्तै, लक्ष्मी सनराइज बैंकले दुई अर्ब र एभरेस्ट बैंकले एक अर्ब ५० करोड रुपैयाँ बराबर लगानी गर्नेछ ।
आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ बराबर लाग्ने अनुमान छ । त्यसमध्ये १६ अर्ब ऋण र सात अर्ब भने स्वपुँजीबाट जुटाइएको हो । निर्माण सुरु भएको पाँच वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनामा कर्णली प्रदेश सरकारको समेत लगानी छ । सोही कम्पनीले एक सय २० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ ।
नेपाल सरकारको अधिकांश स्वामित्वमा रहेको जगदुल्ला ‘नेपालको पानी, जनताको लगानी’ भन्ने मूल नाराका साथ स्थापना भएको हो । कम्पनीले आयोजना सर्वेक्षण, निर्माण, उत्पादन, सञ्चालन र व्यवस्थापन गर्नेछ । कम्पनीको अधिकृत पुँजी आठ अर्ब रहेको छ भने कम्पनीको तत्काल जारी पुँजी सात अर्ब १० करोड छ ।
कम्पनीको संस्थापक सेयरधनीका रुपमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको नौ प्रतिशत, कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत, स्थानीय तह जगदुल्ला र मुड्केचुला गाउँपालिकाको एक प्रतिशत रहेको छ ।