पर्वत,पर्वतको कुश्मा नगरपालिकास्थित बैशाली कृषि सहकारी संस्थामा सञ्चालक समिति र व्यवस्थापकको मिलेमतोमा १८ करोड ७६ लाख ३० हजार ५ सय २८ रुपैयाँ हिनामिना भएको खुलासा भएको छ।सहकारी रजिस्ट्रारको कार्यालय पोखराले छानबिन प्रतिवेदनका आधारमा व्यवस्थापक, सञ्चालकसहित १५३ जनाविरुद्ध एकैपटक मुद्दा चलाउन जिल्ला प्रहरीलाई पत्राचार गरेको हो। नेपालमा सहकारी बेथितिमा यति धेरै जनाविरुद्ध मुद्दा सिफारिस भएको यो पहिलो घटना भएको बताइएको छ। छानबिन प्रतिवेदनअनुसार, व्यवस्थापक कुमारी पुर्जा पुन (मगर) नै घोटालाकी मुख्य योजनाकार हुन्। उनले शेयर सदस्यसमेत नरहेका स्थानीयबाट दैनिक र मासिक रकम संकलन गरी त्यस्ता व्यक्तिलाई ऋण दिएका छन्, जुन सहकारी ऐन विपरीत हो।प्रतिवेदनले देखाएको अन्य अनियमिततामा नक्कली ऋणी बनाएर रकम निकासा गर्ने, ढुकुटी र निजी व्यापारमा सहकारीको रकम लगानी गर्ने, सञ्चालक समितिलाई जानकारी नदिई कर्जा दिने लगायतका क्रियाकलाप रहेका छन्। व्यवस्थापक स्वयंले एक करोडभन्दा बढी रकम हिनामिना गरेको प्रमाण भेटिएको छ। त्यसैगरी, पाँच महिलालाई ८ करोडभन्दा बढी ऋण दिइएको र सो रकम हिनामिना गरिएको पनि प्रतिवेदनमा उल्लेख छ। यस घोटालामा हालका अध्यक्ष गणेश पुन मगर, पूर्व अध्यक्ष गुमबहादुर पुन, लतिफा बेगम, जरिना खातुन, सैजुन मिया, कमला कुमारी पुन मगर, सरिफा खातुन मिया, हिरामाया पुन, रामबहादुर पुन, दुर्गाबहादुर पुन मगर र नारायण शर्मा पौडेलसहितका व्यक्तिहरू मुख्य दोषीको रूपमा नामावलीमा छन्। बैशाली कृषि सहकारीमा ४२६ जना बचतकर्ता रहेका छन्। अघिल्लो साता प्रहरीलाई बुझाइएको प्रतिवेदनमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी रकम असुलउपर गर्न सिफारिस गरिएको छ। जिल्ला प्रहरीका डिएसपी रबिन विष्टका अनुसार छानबिन अनुसन्धान प्रक्रिया सुरु भएको छ, तर प्रारम्भिक चरणमा नै सम्पूर्ण विवरण सार्वजनिक गर्नाले दोषीहरू फरार हुने सम्भावना भएकाले केही जानकारी गोप्य राखिएको छ।