पाटन (ललितपुर) । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा बिहीबार आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रियात्मक तालिम उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले डिजिटल दुनियाँमा प्रविधिको सही उपयोगका लागि हरेक नागरिकलाई सुसूचित गराउनुपर्ने बताएका छन् ।
डिजिटल माध्यमको दुरुपयोगले मानिसको जीवन समाप्त पारेको उल्लेख गर्दै महामन्त्री शर्माले यसबाट सचेत रहनुपर्नेमा जोड दिए । समाजमा डिजिटल माध्यमका कारणले अप्ठ्यारो परेको अवस्था यी विषयमा सचेत गराउनु एउटा जिम्मेवार पार्टीको कर्तव्य भएको उनले बताए ।
उनले पछिल्लो पुस्तामा पार्टीलाई जोड्न, कांग्रेसको प्रचार गर्न, नकारात्मक भाष्य चिर्न, सरकारका कमजोरीका बारेमा सुधार गर्न, अभिव्यक्ति स्वतन्त्रताको उपयोग र सम्मान गर्न डिजिटल माध्यमको सही प्रयोग आवश्यक भएको जानकारी गराए ।
पार्टीभित्रैका गुटउपगुटबीचको प्रतिस्पर्धाका लागि डिजिटल माध्यम प्रयोग गरिँदा पार्टीलाई क्षति पुगेको उल्लेख गर्दै पार्टीका सहमहामन्त्री महेन्द्र यादवले समाजमा सकारात्मक सन्देश प्रवाह र चुनावी परिचालनमा सही उपयोग गरेर लाभ हासिल गर्नुपर्नेमा जोड दिए ।