कञ्चनपुर , बुधबार राति हिमाली गाउँपालिका–१ विच्छ्यामा आएको बाढीले ११ घर बगाएको छ भने सात घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार १७ घर उच्च जोखिममा छन्।बाढीले गाउँपालिका–१, ३ र ५ वडामा बढी क्षति पुर्‍याएको छ। कवाडी प्रहरी चौकीको टोलीले बाढी प्रभावित क्षेत्रमा गएर तथ्याङ्क संकलन गरेको छ। प्रभावित व्यक्तिहरूमा नरेन्द्रबहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा, गोवतल थापा र सोही गाउँपालिका–५ का नवराज बुढा, देवीलाल चदारा, विरबल चदारा, अजय चदारा, हिउँसरा ल्वार, अङ्गविर चदारा रहेका छन्। यसैगरी बलबहादुर चदारा, मुगा लुहार, देबीलाल बुढथापा, वीरभान लुहार र डवल लुहारको घर बगाएर लगेको प्रहरी निरीक्षक चौधरीले बताए। बाढीका कारण सुजलाल थापा, धनसिंह थापा, जबैलाल थापा, धनबहादुर थापा, चन्द्रापति थापा, धर्मलाल थापा र बलचन्द्र थापाको घर जोखिममा रहेको छ।सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संरचनामा पनि क्षति पुगेको छ। १ नम्बर वडा कार्यालय, विच्छ्या मावि, स्वास्थ्य चौकी, स्थानीय विद्युत लाइन, झोलुङ्गे पुल, नेटा र देउसैनको पानी घट्ट समेत जोखिममा छन्। बाढीले पुर्‍याएको क्षतिको अवस्था अनुगमन गर्न गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल नेतृत्वको टोली प्रभावित क्षेत्रमा पुगेको छ। अध्यक्ष मल्लले बाढी प्रभावितको अवस्था बुझेर राहत र पुनःस्थापनाका लागि कार्यपालिका बैठक बस्ने जानकारी दिएका छन्।