काठमाडौं । अमेरिकी अनुदान सहायताअन्तर्गत नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीचको ऊर्जा र सडक पूर्वाधारसम्बन्धी सम्झौताअनुसार दुई ठूला ठेक्काको टुङ्गो लागेको छ ।
उक्त सम्झौता कार्यान्वयन गर्न बनाइएको मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले १५ करोड ४५ लाख डलरका दुई विद्युत् प्रसारण लाइन निर्माण गर्न दुईवटा संयुक्त उपक्रम (जेभी)सँग बिहीबार सम्झौता गरेको हो ।
राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेलगत्तै डोनाल्ड ट्रम्पले ९० दिनका लागि अमेरिकाबाट जाने वैदेशिक सहयोग रोकेका थिए । यसको समीक्षापछि कतिपय सहयोग खारेज गरेको अमेरिकाले नेपालमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट कार्यान्वयनलाई भने निरन्तरता दिने निर्णय गरेको थियो । सो निर्णयपछि एमसीसी मुख्यालयबाट कार्यवाहक उपाध्यक्ष जोन विङ्गल नेपाल आएका छन् । उनकै उपस्थितिमा दुई प्रसारणलाइन निर्माणको सम्झौता भएको हो ।
यसअनुसार एमसीए–नेपालले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे–नयाँ दमौली प्रसारण लाइनको निर्माण गर्न एञ्जेलिक–स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माण गर्न वाइबा–सलासर संयुक्त उपक्रमसँग सम्झौता गरेको छ ।
दुवै प्रसारणलाइनको संयुक्त लागत १५ करोड ४५ लाख अमेरिकी डलर रहेको छ । यी सम्झौताअन्तर्गत एक सय ८० किमि लामो चार सय केभी प्रसारण लाइनहरूको डिजाइन, स्थापना, परीक्षण र सञ्चालनलगायतका काम गरिनेछ । अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसीका कार्यवाहक उपाध्यक्ष, एमसीसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधिहरू, अमेरिकी दूतावासका अधिकारीहरूको उपस्थितिमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्ट र दुई जेभीका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरेका हुन् । यी सम्झौतामा हस्ताक्षर गरी एमसीसीले पारस्परिक प्राथमिकता र नेपालको विकास लक्ष्यहरूमा संयुक्त राज्य अमेरिकाको सहयोगलाई थप पुष्टि गरेको एमसीसीका कार्यवाहक उपाध्यक्ष विङ्गलले बताए ।
अर्थ मन्त्रालयका सचिव तथा एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले प्रसारण लाइन र सबस्टेसनहरू निर्माणसम्बन्धी नेपाल सरकारको योजनालाई कार्यान्वयन गर्न अमेरिकी सरकारबाट प्राप्त आर्थिक सहयोगको सह्राना गरे । यस कार्यक्रमका लागि सरकारी सहयोग निरन्तर रहने उनको भनाइ थियो । नेपालस्थित अमेरिकी दूतावासका नियोग उप–प्रमुख जेसन मिक्सले यस साझेदारीमार्फत विद्युत् प्रसारण लाइन र आर्थिक पूर्वाधार मात्र निर्माण गर्नुको साथै नेपालको दीर्घकालीन विकासलाई पनि तीव्र पारिरहेको बताए । उनका अनुसार एमसीसी कम्प्याक्ट नेपाल र संयुक्त राज्य अमेरिकाबीचको सहकार्यको आधारशीला हो ।
एमसीसी नेपाल कम्प्याक्ट निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण निर्माण गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका लागि गरिएको ६९ करोड ७० लाख डलरको ऐतिहासिक लगानी हो । विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तरआबद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पुर्याउन एमसीसी नेपाल कम्प्याक्ट तयार गरिएको हो ।