काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणपूर्वको अध्ययनलाई जोड दिन आवश्यक रहेको बताएका छन् ।
नेपाल इन्जिनियरिङ काउन्सिलले बिहीबार काठमाडौंमा आयोजना गरेको इन्जिनियरिङ पेशा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिका विषयक कार्यशालामा उनले पूर्वाधार निर्माणको कामलाई दिगो र सुरक्षित बनाउन विशिस्ट अध्ययन र अनुसन्धान जरुरी रहेको बताए ।
नेपालको भू–धरातलीय विशिष्टता सुहाउँदो विकास मोडेल आवश्यक रहेको उल्लेख गर्दै उनले नेपालको भौगोलिक चुनौती खेप्न सक्ने प्रविधिबारे समेत अध्ययन गर्न आग्रह गरे । त्यसका लागि आवश्यक नीति र कानुन निर्माण गर्न सरकार तयार रहेको उनको भनाइ छ ।
ठूला राजमार्गहरुको विकास र विस्तार, आधुनिक सुरुङहरुको निर्माण, नेपालको विशिष्ट भू–बनोट सुहाउँदो सुरक्षित सडकलगायतका संरचना निर्माणमा नेपाली इन्जिनियरहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्री दाहालले नेपाली इन्जिनियरहरुको शिक्षा र क्षमतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने काम अघि बढ्नुले यस क्षेत्रलाई थप उत्साही बनाएको बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालको पूर्वाधार विकासलाई नयाँ चरणमा पु¥याउन इन्जिनियरिङ क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए । नेपालको पूर्वाधार क्षेत्र अहिले तीव्र निर्माणको चरणमा भएकाले यसपछि नयाँ चरण सुरु हुने उनको धारणा छ । नेपालमा उत्पादित स्तरीय जनशक्तिबाट नै पूर्वाधार क्षेत्रलाई आधुनिक दिशातर्फ अघि बढाउन सकिने भन्दै उनले नेपाली इन्जिनियरहरुको वृति विकास र योगदानलाई महत्वका साथ हेरिएको बताए ।
यस्तै, काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले इन्जिनियर र इन्जिनियरिङ क्षेत्रले विकासका विभिन्न आयामलाई समेट्ने भएकाले यस क्षेत्रको योगदान नभई आधुनिक विकास सम्भव नहुने बताए । कार्यक्रममा इन्जिनियरिङ पेशा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिकाका विभिन्न विषयमा विज्ञहरुसहित छलफल भएको थियो ।