भक्तपुर , गुन्डा नाइकेका रूपमा चिनिने चक्रे मिलन (मिलन गुरुङ) लाई जिल्ला अदालत भक्तपुरले १ लाख १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले शुक्रबार बयान र थुनछेक सकेपछि धरौटीको आदेश जारी गरेको हो।भक्तपुर प्रहरीका डीएसपी ढुण्डिराज नेउपानेका अनुसार चक्रेले तोकिएको धरौटी बुझाइसकेका छन् र रिहाको प्रक्रिया अघि बढाइएको छ। चक्रेविरुद्ध एक वर्षअघिको ज्यान मार्ने उद्योगको मुद्दामा कारबाही चलिरहेको छ। २०८१ भदौ १० गते सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आफ्नै भतिज मनिष रायमाझीमाथि आक्रमण गरेको आरोपमा काका दिनेशकुमार रायमाझीले चक्रेसहित २५ वर्षीय अजित खवासमाथि जाहेरी दिएका थिए। सो घटनामा रायमाझीको दुवै कोखमा खुकुरी प्रहार भएको बताइएको छ। उक्त प्रकरणमा खवास पक्राउ परी मुद्दा चलाइएको थियो, तर चक्रे वतन नखुलेको भन्दै तत्काल प्रतिवादी बनाइएका थिएनन्। हाल भने सोही विषयमा चक्रेविरुद्ध भक्तपुरमा मुद्दा दर्ता भएको हो।चक्रे बुधबार मात्र अभद्र व्यवहारको मुद्दामा ३० हजार धरौटी तिरेर रिहा भएका थिए। तर भक्तपुरमा अर्को मुद्दा रहेकाले उनलाई फेरि प्रहरीको जिम्मा लगाइएको थियो। १५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं जिल्ला प्रहरी परिसरको संयुक्त अपरेसनमा चक्रेसहित ४७ जना पक्राउ परेका थिए। जसमध्ये २८ जना रिहा भएका थिए। मध्यरातमा महाराजगञ्जस्थित होटल साम्बालामा चक्रेको जन्मदिन पार्टी मनाउने क्रममा होहल्ला गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो।