काठमाडौं ,दलीय आवरणमा गुण्डागर्दीमा संलग्न चार जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गरेको छ। ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि आक्रमण गर्ने ‘सानुभाइ’ भनिने युवराज गुरुङ, ओम्नियाका सञ्चालक गुरुङ र उनको योजनामा सानुभाइमाथि आक्रमण गर्न गएका रवीन्द्र गुरुङ तथा दीलबहादुर तुम्बापो धरौटीमा छुटेका हुन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिवप्रसाद खनालको इजलासले सानुभाइलाई २५ हजार, ओम्नियाका सञ्चालक गुरुङलाई २० हजार र रवीन्द्र तथा दीलबहादुरलाई २०–२० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। साउन १४ गते राति ठमेलको नगरकोट दोहोरी साँझमा सानुभाइ रहेको सूचना पाएपछि ओम्नियाका सञ्चालक गुरुङले रवीन्द्र र दीलबहादुरलाई हातपात गर्न पठाएका थिए। धक्कामुक्काकै क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लियो। पक्राउ परेकाले आफूलाई गुरुङले पठाएको बताएका थिए। त्यसपछि साउन १७ गते गुरुङलाई सामाखुसीस्थित घरबाट पक्राउ गरिएको हो।
नुवाकोट, ककनी गाउँपालिका–५ का सानुभाइ र सोही जिल्लाका ओम्नियाका सञ्चालक गुरुङ दुवै नेपाली कांग्रेसका कार्यकर्ता हुन्, तर फरक गुटमा। सानुभाइ डा. प्रकाशशरण महत पक्षका हुन् भने गुरुङ अर्जुननरसिंह केसी पक्षका। महत समूहले सानुभाइलाई तरुण दलको जिल्ला अध्यक्ष बनाउने तयारी गरेको थियो।
२०८० साउनमा सानुभाइले ओम्नियाका सञ्चालक गुरुङमाथि आक्रमण गरेका थिए। अभद्र व्यवहार मुद्दामा पक्राउ परेपछि उनी साउन १० मा धरौटीमा छुटेका थिए। सोही घटनाको बदला लिन गुरुङले दुई वर्षपछि गत साउन १४ मा आक्रमणको योजना बनाएको प्रहरी अनुसन्धानले देखाएको छ।