काठमाडौं, पुस ८
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरी अस्पताल, काठमाडौँमा निर्मित रक्तसञ्चार केन्द्रको उद्घाटन गरिएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्तरूपमा उद्घाटन गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकको ४० लाख सहयोगमा रक्तसञ्चार केन्द्र निर्माण भए बापतको चेक रकम बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक खनाललाई सो समारोह हस्तान्तरण गरेका हुुन् । सो समारोहमा प्रहरी महानिरीक्षक खनालले मानवतासम्बन्धी पुनित कार्यमा राष्ट्रिय वाणिज्य बैंकले सहयोग गरेकोमा कृतज्ञता व्यक्त गरे । बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल प्रहरीलाई आधुनिक बैंकिङ सेवा दिन बैंक सधैँ तत्पर रहेको र आवश्यक भएमा बैंकले नयाँ क्षेत्रमा सहयोग गर्ने बताए ।
विस २०४० सालबाट सुरु भएको नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरूलाई निःशुल्क सेवा, पूर्वप्रहरी तथा तिनका आश्रित परिवारहरूलाई अति न्यून शुल्कमा सेवा उपलब्ध गराउदै आएको छ भने शुलभ मूल्यमा सर्वसाधारण नागरिकहरूलाई समेत २०७४ सालबाट सेवा दिइरहेको छ । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा. दुर्गा थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रहरी नायब महानिरीक्षक एवं नायब मेडिकल डाइरेक्टर डा. मिनराज पाठकले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, विभागीय प्रमुख सरोज बस्नेत, शाखा कार्यालय नक्सालका प्रबन्धक इश्वरी न्यौपाने, त्रिभुवन विश्वविद्यालय रक्तसञ्चार केन्द्रका नुमामाया गुरुङ, प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राई, उच्च प्रहरी अधिकृतहरू, प्रहरी कर्मचारीहरूलगायतको उपस्थिति रहेको थियो ।