काठमाडौं । नेपाल माउन्टेनियरिङ्ग एशोसिएसन (NMA) को आगामी निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी कुल बहादुर गुरुङ नेतृत्वको समूहले आफ्नो नीति, दृष्टि र प्रतिबद्धता सार्वजनिक गरेको छ । समूहले हिमाललाई केवल प्राकृतिक दृश्य नभई नेपालकै सांस्कृतिक पहिचान, जीवनधारा र अर्थतन्त्रको मेरुदण्डका रूपमा परिभाषित गर्दै सुरक्षित आरोहण, स्वच्छ हिमाल, समुदायको सशक्तीकरण, जलवायु न्याय, पारदर्शी नेतृत्व र अन्तर्राष्ट्रिय स्तरमा नेपालको हिमाली पर्यटनलाई अग्रणी बनाउन स्पष्ट कार्ययोजना अघि सारेको छ ।
गुरुङ समूहले हिमाली पर्यटनलाई सुरक्षित, जिम्मेवार र दिगो बनाउन उच्चतम सुरक्षा मापदण्ड कायम गर्ने, हेलि–रेस्क्युमा पारदर्शिता ल्याउने र दुरुपयोग नियन्त्रण गर्ने घोषणा गरेको छ । एभरेस्टसहित ८ हजार मिटरमाथिका शिखरका लागि आचारसंहिता लागू गर्ने तथा पर्वतारोहण सुरक्षा ऐनलाई अद्यावधिक गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ ।
“स्वच्छ हिमाल अभियान”लाई दीर्घकालीन रणनीति बनाउँदै आरोहण मार्ग र आधार शिविर सफा राख्ने योजना पनि समूहको प्राथमिकतामा परेको छ । त्यस्तै, जलवायु परिवर्तनका प्रभावबारे विश्व मञ्चमा सशक्त आवाज उठाउने र अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै जलवायु प्रतिरोधात्मक कार्यक्रम अघि बढाइने बताइएको छ ।
स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्याउन हिमालसँग सम्बन्धित उत्पादन, सेवा र जनशक्तिलाई प्राथमिकता दिने तथा अफ–सिजन र कम परिचित शिखरहरूको प्रवर्द्धनमार्फत पर्यटनको समान वितरण गर्ने योजनासमेत प्रस्तुत गरिएको छ । उच्च हिमाली श्रमिकका लागि बीमा, स्वास्थ्य, तालिम र सामाजिक सुरक्षा सुनिश्चित गर्न “Mountain Workers’ Bill of Rights” लागू गरिने समूहले जनाएको छ ।
युवा पुस्ता र महिला पर्वतारोहीलाई प्रोत्साहित गर्न अन्तर्राष्ट्रिय छात्रवृत्ति, सीप विकास तालिम, पर्वतारोहण तालिम अकादमी, अनुसन्धान केन्द्र र उद्धार केन्द्र स्थापना तथा स्तरोन्नति गर्ने घोषणा पनि गरिएको छ । साथै, संस्थागत सुधारका लागि सबै सेवामा डिजिटल प्रणाली लागू गरी ‘एकद्वार सेवा’ स्थापना गर्ने, वित्तीय पारदर्शिता बढाउने र “हिमालयन प्रेसिडेन्सियल थिङ्क ट्यांक” स्थापना गर्ने योजनासमेत सार्वजनिक गरिएको छ ।
विश्व मञ्चमा नेपालको हिमाली पर्यटनको प्रभावकारी ब्रान्डिङ गर्दै वार्षिक अन्तर्राष्ट्रिय हिमाल महोत्सव आयोजना गर्ने, UIAA तथा UAAA जस्ता अन्तर्राष्ट्रिय संघहरूसँग सहकार्य गर्दै दीर्घकालीन साझेदारी गर्ने रणनीति पनि समूहको दस्तावेजमा समेटिएको छ । नेतृत्व शैलीबारे बोल्दै समूहले आफ्नो दृष्टिकोणलाई C³ (Creation, Curation & Communication) र E³ (Energy, Excitement & Enthusiasm) मा आधारित रहने स्पष्ट गरेको छ । अध्यक्ष पदका प्रत्यासी कुल गुरुङले प्रतिज्ञा गर्दै भने, “Mountains are not just landscapes — they are lifelines. हामी हिमाललाई केवल आरोहणको लक्ष्य होइन, जीवन, संस्कृति र गौरवको स्रोतका रूपमा संरक्षण र प्रवर्द्धन गर्नेछौं।”