काठमाडौं । सहकारी ठगीका मास्टर माइन्ड मानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागारमा स्थानान्तरण गरिएको छ । उनी अदालतको आदेशअनुसार जेल परेका हुन् । यद्यपि, अदालतलाई राजनीतिक प्रभावमा परेर आदेश दिएको आरोप लामिछाने र उनको पक्षले लगाउँदै आएको छ ।
हजारौँ निक्षेपकर्ताको बिचल्ली बनाउन अन्य व्यक्तिको जस्तै लामिछानेको पनि महत्वपूर्ण भूमिका रहँदै आएको छ । आफ्नो पक्षमा केही आदेश आउँदा जयजयकार र आफ्नो प्रतिकूल आदेश आउँदा उनीहरुले आदलतलाई गाली गर्ने गरेका छन् ।
पाँचवटा जिल्लाका सहकारी ठगीको आरोपमा लामिछानेमाथि अदालतमा मुद्दा चलिरहेको छ । उनी बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नताको आरोपमा भने गत चैत २५ गतेदेखि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका थिए । उनले जेलबाट रिहा हुनका लागि पटक–पटक प्रयास गरे पनि अदालतले अस्वीकार गर्दै आएको छ ।
रवि जस्तैगरी सहकारी ठग्ने केही व्यक्ति भागे पनि अधिकांश व्यक्ति भने जेलमा छन् । उनीहरुले कानुनी लडाइँ जारी राखे पनि लामिछानेले भने कानुनीको साथै राजनीतिक लबिङ्ग जारी राखेर अदालतलाई हतोत्साही बनाउने प्रयास गरिरहेका छन् ।
कारागार सरुवाको माग गर्दै उनले दोस्रोपटक बुधबार नख्खु कारागार स्थानान्तरण गरिदिन निवेदन दिएका थिए । सोही निवेदनअनुसार शनिबार उनलाई ललितपुर ल्याइएको हो । उनले जेठ १४ गते पनि रुपन्देही जिल्ला अदालतबाट काठमाडौंस्थित डिल्लीबजार कारागारमा स्थानान्तरणको माग गरेका थिए ।
गत सोमबार राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापासहितको टोलीसँग उनले आफूलाई स्थानान्तरण नगरिएको भन्दै गुनासो गरेका थिए । बुधबार उनले कारागार स्थानान्तरण गर्न माग गरेपछि शुक्रबार रुपन्देहीबाट लामिछानेलाई नख्खु सार्ने निर्णय भएको थियो ।
लामिछानेले सहकारी ठगी गरेको होइन भन्न नसकिने भनेर अदालतले भनिरहँदा पनि उनी तथा उनको पार्टीका नेता र कार्यकर्ताले निर्दोष रहेको जिकिर गरिरहेका छन् । तर, अहिलेसम्मको तथ्य र प्रमाणले उनलाई निर्दोष देखाएको छैन । त्यही कारण उनी जेलमा छन् ।
चर्को बोल्दा जेलबाट उम्किन सकिन्छ भन्ने मानसिकतामा लामिछाने तथा उनको पक्ष रहेको देखिन्छ । तर, उनी जेलबाट निस्कन मुश्किल नै छ । सर्वोच्च अदालतले समेत उनलाई जेलमै राखेर कानुनी लडाइँ लड्न भनेपछि लामिछाने तथा उनको पक्ष तिलमिलाएको छ ।