काठमाडौं । पोखराको बाटुलेचौरमा रहेको एक सय ३५ रोपनी जग्गा पीडित पक्षको नाममा कायम गर्न अदालतले गरेको आदेश कार्यान्वयन गरिदिने आश्वासन दिएर पीडित पक्षसँग तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्थामन्त्री बलराम अधिकारी र पूर्व भूमि व्यवस्था मन्त्री रञ्जीता श्रेष्ठले घुस लेनदेनको कुरा गरेको अडियोकाण्डलाई आर्थिक दैनिकले सार्वजनिक गरेपछि छानबिन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लेनदेन गर्ने मन्त्रीहरुलाई छानबिनको केन्द्र बनाउनेभन्दा पनि पीडित पक्षलाई नै उल्टै पीडा दिनेगरी छानबिन गर्न थालेको पाइएको छ ।
छानबिनको नाममा पीडित सुजन लामालाई बिहीबार बिहान ९ बजेदेखि अख्तियारमा बोलाएर विनाखाना तथा दवाई पानी प्रहरीले मानसिक यातना दिँदा बिहीबार बेलुका लामाले अख्तियारभित्रै रगत उल्टी गरी मूर्छित भएर ढलेको र बेहोसी अवस्थामै दीर्घरोगी लामालाई चिनजानका एक व्यक्तिलाई बोलाएर अस्पताल भर्ना गराएको पाइएको छ ।
तर उनलाई अस्पताल भर्ना गराउँदा अख्तियारका यातना दिने प्रहरी अस्पतालसम्म पनि नगएर गैरजिम्मेवारीपन प्रदर्शन गरेको थाहा भएको छ । लामाले प्रहरीले आफूलाई अख्तियारमा बिहानै बोलाएको र खाना, औषधि केही पनि खान नदिएको बताए ।
उनले आफूलाई अख्तियारका प्रहरीले आफूहरुले भनेअनुसार बयान दिन दबाब दिएको तर आफूले नमानेका कारण बिहानै अख्तियार बोलाउने खानापानी दबाई केही पनि खान नदिई राति अबेरसम्म राख्ने र छाड्ने गरेको बताएका छन् ।
अनुसन्धानका लागि बोलाइएको व्यक्ति बेहोस भएर ढलेपछि अख्तियारका अनुसन्धानमा लागेका अधिकारीहरुले नै उनको उपचारको शीघ्र व्यवस्था मिलाउनुपर्ने हो । तर उनीहरुले लामाको हकमा त्यसो गरेनन् र लामाका चिनजानका एक व्यक्तिलाई बोलाएर चार जनाले उठाएर गाडीमा हालेर जिम्मा लगाएर पठाए । तर अख्तियारका अधिकारीहरुले उनको बाँच्न पाउने मानव अधिकारको बास्ता समेत गरेनन् ।
त्यसपछि चिनजानका व्यक्तिमार्फत उनको माइतीघरमा रहेको न्यूरो अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो । लामालाई यातना दिएको र ढल्दा समेत अस्पताल लैजाने सामान्य मानवीयता समेत नदेखाएको विषयमा जिज्ञासा राख्दा यस विषयमा अनुसन्धान गरिरहेका अनुसन्धान अधिकृतहरुले भने घटनाक्रम यस्तो नभएको बताए ।
अनुसन्धान अधिकृतका अनुसार लामाले नियमित खाने औषधि त्यसदिन नखाएकाले समस्या भएको र अनुसन्धान अधिकृतहरुले तत्कालै सो औषधि ल्याएर खुवाउनुका साथै अस्पताल जानका लागि आग्रह गर्दा समेत नमानेपछि उनकै आफन्तको जिम्मा लगाएर पठाएको बताए ।
भ्रष्टाचार निवारणका लागि कसैले पनि सूचना दिन्छ वा प्रमाण सार्वजनिक गरिदिन्छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि त्यो व्यक्ति वा निकाय सम्मानयोग्य हुनुपर्ने हो । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रीहरुको भ्रष्टाचारको अडियो रेकर्ड गर्ने लामालाई चरम यातना दिएको हो ।
भ्रष्टाचारसम्बन्धी समाचार आर्थिक दैनिकमा असार ११ गते सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिए भने भूमिमन्त्री बलाराम अधिकारी आजसम्म पनि छानबिन र अनुसन्धान बाहिर छन् ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले राजीनामा दिएपछि पार्टीभित्र तरङ्ग छ । गुप्ताले ५३ लाख घुस लिएको अडियो रेकर्ड सार्वजनिक भएको थियो । त्यस्तै, भूमिमन्त्री बलाराम अधिकारीले ३२ लाख रुपैयाँ लिएको अडियोमा सुन्न सकिन्थ्यो ।
तत्कालीन भूमिसचिव अर्जुन पोख्रेलले पाँच लाख रुपैयाँ, वन कुखुरा र अरिंगाल घुस खाएको अडियो आर्थिक दैनिकले सार्वजनिक गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको थियो ।
छानबिनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरुमा तत्कालीन मन्त्री गुप्ता, हालका मन्त्री अधिकारी र पूर्वमन्त्री समेत रहेकी श्रेष्ठलाई कुनै बयान समेत नलिई सुरुमा पीडित सुजन लामालाई नियन्त्रणमा लिने कोसिस गरेको थियो । अडियो रेकर्ड गरेर मिडियालाई उपलब्ध गराएको भन्दै लामामाथि अख्तियारले सुरुमा नै प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै आर्थिक दैनिकले समाचार समेत प्रकाशन गरेको थियो ।
पहिलो चरणको बयान सकिएपछि दोस्रो चरणको बयान दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल पुगेका लामामाथि विहिबार पुन चरम यातना र दु्व्र्यवहार भएको पाइएको हो ।
स्रोतका अनुसार अख्तियारले लामाको परिवारलाई निकै तनाव दिएको छ । २०४२ सालको पहिरोपछि नुवाकोटको किम्ताङबाट कास्की आएका उनको परिवार अहिले पोखरा १६ स्थित मसिनाबगरमा सुकुम्बासी बस्तीमा छ । आमाको साथमा रहे पनि बाबुले भने अर्कै आमा भगाएर हिँडेका कारण नागरिकता समेत बनाउन सकेका छैनन् । तर, अख्तियारले उनीसँग पटकपटक नागरिकता माग्ने गरेको छ ।
मन्त्रीहरुलाई घुस दिएको देखिएकाले घुस लिने र दिने दुवैलाई मुद्दा चलाउने गरी अख्तियारले तयारी गरेको छ । तर, लामाले बयानमा सहयोग नगरेको भन्दै अख्तियारले चरम यातना दिएको हो ।
अख्तियारको टोलीले अर्की आमा लिएर बेपत्ता भएका सुजनका बाबु विक्रमसिं तामाङलाई पनि बयानका लागि पोखरा कार्यालयमा पटक–पटक बोलाएको छ । त्यस्तै ७३ वर्षीय बाजे दावा लामालाई पनि बयानका लागि पत्राचार गरेको छ ।
मन्त्रीहरुसँग घुस लेनदेनमा कुनै संलग्नता नै नभएका याम कुमारी गुरुङ, सुरज कुमार शाह, गीतादेवी शाह, तुल्सी बुढालगायतसँग अख्तियारले बयान लिएको छ । तर, घुस लिने मन्त्रीहरु फुर्सदमा अख्तियार धाउने गरेका छन् ।
७८ लाख घुस डिल गर्ने तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि बिहीबार मात्रै अख्तियार पुगेका छन् । उनको पनि ततिम्बा बयान गराउन अख्तियारले उनलाई झिकाएको हो ।
