काठमाडौं । साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा प्राप्त भइसकेको जनाएको छ । साल्ट ट्रेडिङले एक विज्ञप्ति जारी गरी कोलकाता बन्दरगाहमा आइपुगेका मललाई धमाधम नेपालस्थित कर्पाेरेसनका गोदममा ल्याउने क्रम जारी रहेको जानकारी दिएको छ ।
कर्पाेरेसनले हालै मात्र चार लाख ४० हजार बोरा युरिया र दश लाख ८३ हजार बोरा डीएपी गरी कुल १५ लाख २३ हजार बोरा रासायनिक मल आयात गरेको थियो । गोदाममा आइरहेको उक्त मल कोटा वितरणका लागि प्रदेश सरकारलाई पत्राचार गरिसकेको र प्रदेश सरकारहरूद्वारा पालिकालाई कोटा वितरण भइसकेको भन्ने जानकारी कर्पाेरेसनलाई प्राप्त भएको पनि संस्थाले स्पष्ट पारेको छ ।
रासायनिक मलको पछिल्लो अवस्थाका बारेमा कर्पाेरेसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कर्पाेरेसनको मल बिक्रेताका रूपमा दर्ता भएका सम्पूर्ण डिलरहरूलाई आफ्नो पालिका तथा कर्पाेरेसनको सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटाअनुसारको मल बिक्री वितरण गर्न अनुरोध गरिन्छ ।’