काठमाडौं । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरुको श्रम वैधानिकीकरण गर्ने कार्य सुरु भएको छ । नेपाली दूतावास रियादले शुक्रबार एक समारोहको आयोजना गरी सो कार्यक्रमको सुरुवात गरेको हो ।
कार्यक्रममा आठ वर्षदेखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रिक लिई राजदूत डा.नरेश विक्रम ढकालले श्रम वैधानिकीकरणलाई औपचारिकता दिएका थिए । कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम स्वीकृतिको अभावमा वैदेशिक रोजगारमा रहेका श्रमिकहरु आफ्नो मुलुक फर्किन नसक्ने अवस्थाको सिर्जना हुनु मानवीय नाताले समेत उपयुक्त नभएकाले वैधानिकीकरण अभियान सुरु गर्नुपरेको बताए । साउदी अरेबियासँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी दिँदै मन्त्री भण्डारीले अबको सेवाहरु प्रविधिमा आधारित रहने बताए ।
मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले व्यक्तिगत, कानुनी वा जानकारीको अभावजस्ता विविध कारणले श्रम स्वीकृतिको अभावमा राज्यबाट प्रदान हुने सेवाबाट कुनै पनि नेपाली बञ्चित भएकाले दूतावासबाटै श्रम वैधानिकीकरण कार्य आवश्यक रहेको औँल्याए । राजदूत डा. ढकालले श्रम वैधानिकीकरण गर्ने कार्यलाई अभियानकै रुपमा सञ्चालन गरिने जानकारी दिए ।