काठमाडौं । नेपाल टेलिकमको खुद नाफामा भारी गिरावट आएको छ । टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार ५७ दशमलव २१ प्रतिशतले नाफामा कमी आएको देखिएको हो ।
कम्पनीका अनुसार गत आवको चौथो त्रैमासिकसम्म खुद नाफा दुई अर्ब ६६ करोड ८१ लाख ९२ हजार रुपैयाँ रहेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा छ अर्ब २३ करोड ५५ लाख दुई हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको मुनाफामा तीन अर्ब ५६ करोड ७३ लाख नौ हजार रुपैयाँले कमी आएको हो । यस्तै, कम्पनीको गत आवमा करअघिको नाफा ११ अर्ब २१ करोड ६३ लाख ४८ हजार रुपैयाँ रहेको थियो । उक्त रकम समीक्षा अवधिको ११ अर्ब २५ करोड छ लाख ५१ हजारको तुलनामा तीन करोड ४३ लाख दुई हजार रुपैयाँले कमी हो ।
यसैगरी, कम्पनीको कुल सञ्चालन आयमा पनि कमी आएको छ । कम्पनीको कुल सञ्चालन आय ३४ अर्ब ५३ करोड २४ लाख ४२ हजार रुपैयाँ रहेको छ । उक्त रकम समीक्षा अवधिको ३४ अर्ब ५६ करोड दुई लाख ६५ हजारको तुलनामा दुई करोड ७८ लाख २३ हजार रुपैयाँले कमी हो । यस्तै, कम्पनीको कुल आय ३८ अर्ब ७३ करोड ३३ लाख ४१ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड ६९ लाख १० हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आयमा पनि तीन अर्ब ३८ करोड ३५ लाख ६९ हजार (अर्थात् आठ दशमलव शून्य तीन प्रतिशत) ले कमी भएको छ । कम्पनीको प्रति सेयर आम्दानी १४ रुपैयाँ ८२ पैसा रहेको छ ।
ओटीटी सेवाको व्यापक प्रयोग, कम्पनीको जीएसएम अनुमति पत्र नवीकरण, कर्मचारीहरुको निवृत्तिभरणको व्यवस्था, लगानीमा भएको कमी तथा ब्याजदरमा गिरावट, लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार, सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियमहरु परिवर्तनलगायतका कारणले आम्दानी र मुनाफामा कमी आएको कम्पनीले जनाएको छ ।