काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले डिपाल ईभीटीओएल फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्सलाई काठमाडौंमा उतारेको छ ।
नाडाले तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै भविष्यको मोबिलिटी प्रतीक डिपाल ईभीटीओएल फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स सुरक्षितरूपमा काठमाडौं आइपुगेको जानकारी दिएको छ । यी अति उच्च प्रविधिहरू पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनका लागि तयार रहेको नाडाको भनाइ छ । यस ऐतिहासिक क्षणलाई नाडा अटो सो २०२५मार्फत दर्शकहरूले प्रत्यक्ष अनुभव गर्नेछन् ।
१७औँ संस्करणको नाडा अटो सोमा यी दुई प्रविधिको प्रदर्शनी गरिनेछ । यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्ने नाडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा नाडा अटो सो हुँदैछ ।