काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीका अवसरमा पशुपति गौशलास्थित भण्डारखालमा शनिबार बिहान बृहत् वृक्षारोपण गरेको छ ।
मुलुकको समग्र चेम्बर अभियानको ७५औँ ऐतिहासिक वर्षगाँठको अवसरमा चेम्बरले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । हीरक जयन्ती मूल समारोह समितिको समन्वयमा वृक्षारोपण गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनले विश्वलाई गम्भीर चुनौती दिइरहेको वर्तमान अवस्थामा चेम्बर अफ कमर्सको पहल अत्यन्तै प्रशंसनीय भएको बताए । उनले वृक्षारोपणले केवल हरियाली बढाउने मात्र नभई भावी पुस्ताका लागि स्वच्छ तथा दिगो वातावरण सुनिश्चित गर्न ठूलो योगदान पुर्याउने बताए । मन्त्री शाहीले विश्वव्यापी जलवायु संकटलाई समाधान गर्न सामूहिक पहलको आवश्यकतामा जोड दिए ।
हीरक जयन्ती मूल समारोह समितिका सभापति एवम् चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको अगुवाईमा आयोजित कार्यक्रममा चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्यहरुको नाममा सहभागीहरुले एक सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपेका थिए । सभापति श्रेष्ठले वृक्षारोपणसँगै यसको संरक्षण र संवद्र्धनलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । उनले चेम्बरले सामाजिक उत्तरदायित्वअनुरुप आगामी दिनमा पनि वातावरण संरक्षण र दिगो विकासको गतिविधिमा अग्रणी भूमिका खेल्ने बताए । कार्यक्रमले चेम्बरको ७५ वर्षे यात्रामा सामाजिक तथा वातावरणीय उत्तरदायित्वलाई पनि जोडिएको सन्देश दिएको सहभागीहरुले बताएका छन् ।
साढे सात दशकदेखि क्रियाशील निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्था नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवम् निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिविधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गरिनेछ ।