काठमाडौं । लामो समयदेखि गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) १० करोड रुपैयाँको चेक बाउन्स प्रकरणमा पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई पक्राउ गरी भद्रकालीस्थित हिरासतमा राखेको छ । प्रहरीका एक अधिकृतका अनुसार गोर्खालीविरुद्ध अहिलेसम्म १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको जाहेरी परेको छ । “सोही जाहेरीका आधारमा पक्राउ पुर्जी लिएर पक्राउ गरिएको हो,” ती अधिकृतले जानकारी दिए । पीडितको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । गोर्खालीले १० करोड रुपैयाँ कुन प्रयोजनका लागि लेनदेन गरेका थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । उनीमाथि बैंकिङ कसुरमा म्याद थपेर अनुसन्धान अघि बढाइने जनाएको छ । राजनीतिसम्म पुग्ने कोसिस गोर्खाली २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिसमा परेका थिए । तर अन्ततः उनलाई टिकट भने दिइएको थिएन । लामो आपराधिक इतिहास गोर्खालीको आपराधिक इतिहास निकै लामो छ । २०५८ सालमा सुन्धारास्थित बेबी लोन डिस्कोमा रोशन लिम्बुको हत्या प्रकरणमा उनी प्रत्यक्ष संलग्न रहेका थिए । तरबार प्रहार गरेर हत्या गरेका गोर्खालीले त्यस प्रकरणमा १० वर्ष जेल सजाय भुक्तान गरेका थिए । कारागारबाट छुटेपछि पनि उनी पटक–पटक पक्राउ पर्न थाले । कहिले हातहतियारसम्बन्धी मुद्दामा त कहिले लेनदेन र गुन्डागर्दीमा संलग्न हुँदै आएका गोर्खाली फेरि एकपटक ठूलो रकमको चेक बाउन्स मुद्दामा प्रहरीले नियन्त्रणमा लिएको हो ।