काठमाडौं ।अनुभवका फर्जी कागजात बुझाएको आरोपमा निलम्बनमा परेका शरद ओझा बीमा प्राधिकरणको अध्यक्षका लागि अयोग्य ठहरिएका छन्। उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित छानबिन समितिले ओझा अध्यक्ष पदको योग्यता नपुग्ने निष्कर्षसहित प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको हो। समितिमा पूर्वसहसचिव जीवनप्रकाश सिटौला र बीमा समितिका पूर्वबोर्ड सदस्य कपिलदेव ओली सदस्य थिए। गत असार ३० गतेको मन्त्रिपरिषद् बैठकले ओझालाई निलम्बन गर्दै छानबिन समिति गठन गरेको थियो। समितिले कार्यक्षमता, पदीय जिम्मेवारी, आचरण र योग्यता–अनुभवका आधारमा अनुसन्धान गरेको थियो। सो क्रममा ओझाको अनुभवमा कैफियत भेटिएको समिति स्रोतले जनाएको छ।समितिको मूल्याङ्कनअनुसार, ओझा सञ्चार क्षेत्रमा मात्र अनुभवी देखिएका छन्। बीमा ऐनअनुसार सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय अनुभव हुनुपर्ने भए पनि उनले संवाददाताको रुपमा मात्रै काम गरेको देखिएको छ। समितिले विभिन्न सञ्चारगृहबाट उनका अनुभवसम्बन्धी कागजात झिकाएर पुष्टि गरेको हो। ओझाले निलम्बनविरुद्ध साउन ८ गते सर्वोच्च अदालतमा निवेदन दिए पनि साउन १९ गते न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ। गत फागुन १२ गते मन्त्रिपरिषद् बैठकले कञ्चनपुर निवासी ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। तर, बीमा ऐनको दफा १२ अनुसार छानबिन समितिको सिफारिसमा पदमुक्त गर्न सकिने व्यवस्था भएकाले अब ओझाको प्राधिकरण फर्किने बाटो बन्द भएको छ।