गोरखा – युनाइटेड गोरखा बचत तथा ऋण सहकारी संस्थाकी तत्कालीन उपाध्यक्ष सीता ढकाल पौडेलले संस्थाको करिब १३ करोड रुपैयाँ अपचलन गरेको तथ्य बाहिर आएको छ।पौडेलले सहकारी सदस्यहरूको बचत रकम जलेश्वरस्थित स्वच्छन्द बिकोइ बिल्डर्सलाई ऋणस्वरूप उपलब्ध गराए पनि हालसम्म रकम भुक्तानी नभएको पाइएको हो। पौडेल एमाले बागमती प्रदेश कमिटी सदस्य मात्र नभई सहकारी तथा गरिबी निवारण बागमती प्रदेशकी प्रमुख र सहकारीहरूको केन्द्रीय संघ नेफ्स्कुनकी सञ्चालक समेत रहेकी छन्। १२ करोड ८१ लाखको विवादास्पद लेनदेन पौडेलले संस्थाको १२ करोड ८१ लाख रुपैयाँ बिल्डर्स कम्पनीका अध्यक्ष मनोजकुमार भेटवाललाई सेयर र भवन निर्माणका लागि उपलब्ध गराएकी थिइन्। तर कारोबार नमिल्दा असार २०८० मा दुवै पक्षबीच रकम भुक्तानी गर्ने सहमति भएको थियो। सहमति अनुसार भेटवालले २६ साउन २०८० मा ४ करोड र ३० मंसिर २०८० मा ८ करोड ८१ लाखको चेक पौडेललाई दिएका थिए। चेक प्राइम कमर्सियल बैंकको भए पनि सटही नहुँदा सहकारी संकटमा फसको छ।