काठमाडौं । ललितपुरको महालक्ष्मीस्थानको मितेरी सहकारी ठगीमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बर्दियाका ज्योतिबहादुर भण्डारी, सुरेश अधिकारी र धादिङका सुवास खत्रीलाई पक्राउ गरेर अनुसन्धान प्रतिवेदन बुझाएसँगै अदालतमा मुद्दा दायर गरिएको हो ।
कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी स्याङ्जाकी ज्योती गुरुङ, स्याङ्जाकै कुम्भराज गुरुङ, खोटाङका विजयकुमार राई, बाग्लुङका प्रितम अधिकारी र सिन्धुपाल्चोकका अर्जुन अराम भने हाल फरार छन् । उनीहरुलाई मुद्दामा प्रतिवादी बनाइएको छ । प्रतिवादीहरुविरुद्ध ठगी, लिखत, अभौतिक मुद्रा, नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।
मितेरी सहकारीको १४ करोड २९ लाख २४ हजार सात सय ५४ रुपैयाँ अपचलन गरेको उनीहरुमाथि आरोप छ । यसबाहेक थप तीन करोड ४२ लाख ८२ हजार चार सय २० रुपैयाँ ठगी गरेको अर्को आरोप छ । ठगीमा १७ करोड ७२ लाख सात हजार एक सय ७४ रुपैयाँ ९२ पैसा बिगो कायम गरिएको छ ।
सुवास खत्री र अर्जुन आरम भने हुण्डीको कसुरमा पनि प्रतिवादी बनाइएका छन् । अनुसन्धानका क्रममा उनीहरूले छ अर्ब ७४ करोड ३२ लाख ६९ हजार ८९ रुपैयाँ २२ पैसा हुन्डीको कारोबार गरेको प्रमाण फेला परेको थियो । अभियोग पत्रअनुसार सुवास खत्रीलाई क्रिप्टो कारोबारमा दुई हजार एक सय ४९ अमेरिकी डलर (करिब तीन लाख रुपैयाँ) को कारोबार गरेको आरोप छ । प्रतिवादीहरुलाई कसुरका आधारमा फरकफरक बिगो दाबी गरिएको छ ।