काठमाडौं । ग्लोबल आईएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । सन् १९९२मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।
बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरूमा गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो । यो वर्षको अवार्डसँगै ग्लोबल आईएमई बैंक तेस्रो पटक बेस्ट बैंक अवार्डबाट सम्मानित भएको हो। यसअघि पनि ग्लोबल आईएमई बैंकले युरो मनी अवार्ड फर एक्सलेन्स २०२२/२०२४मा बेस्ट बैंक अवार्ड प्राप्त गरेको थियो ।
ग्लोबल आईएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५२ वटा शाखा कार्यालय, तीन सय ८४ वटा एटीएम काउन्टर, एक सय ५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा दिँदै आएको छ ।