वासिङटन । संयुक्त राज्य अमेरिकाले भारतसँग हुने भनिएको व्यापार वार्ता रद्द गरेको छ । अगस्ट २५–२९ देखि नयाँ दिल्लीमा अमेरिकी व्यापार वार्ताकारहरु आउने भनिएको थियो । तर यो भ्रमण रद्द भएको रोयटर्सले जनाएको छ ।
अब यसका लागि छुट्टै मिति तोकिने पनि उल्लेख गरिएको छ । अगस्ट २७ देखि अमेरिकाले भारतीय वस्तुको अमेरिकी प्रवेशमा लगाएको भन्सार शुल्क लागू हुँदै छ । यसले भारतीय निर्यातकहरुलाई निराश पारेको छ ।
यही महिनाको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत शुल्क लगाएका थिए । रुसबाट निरन्तर तेल आयात गरेको आरोप लगाउँदै उनले सो शुल्क लगाएका थिए । यसले अमेरिका–भारत व्यापारिक सम्बन्धमा दरार आएको थियो । अमेरिकी शुल्क लागू हुँदा अगस्ट २७ देखि भारतीय वस्तुमा ५० प्रतिशत भन्सार दर लागू हुनेछ । जुन अमेरिकाको व्यापार साझेदारहरुमध्येकै उच्च हो ।
दुवै देशबीच यसअघि पाँच चरणमा व्यापार वार्ता भए पनि सम्झौतामा सहमति नै हुनसकेको छैन । खासगरी भारतको ठूलो फार्म र डेरी क्षेत्र खुलाउने र रुसी तेल खरिद रोक्ने कुरामा दुई देशबीच सहमत हुन नसकेका हुन् । भारतले अमेरिकी करवृद्धिलाई अतार्किक भनिसकेको छ । उसले अमेरिका स्वयं र युरोपले रुससँग खरिदलाई निरन्तरता दिने तर भारतलाई नकिन भन्नु उपयुक्त नहुने बताउँदै आएको छ ।