मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक यात्रा सुरु गर्ने घोषणा गरेका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले चाँडै नयाँ राजनीतिक दल गठन गर्ने अठोट सार्वजनिक गरेका हुन्।दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले आफू र आफ्ना अभियानका साथीहरूले अब ‘सिर्फ अभियान’ होइन, संगठित राजनीतिक शक्ति निर्माण गर्ने निष्कर्षमा पुगेको बताए। “म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ। मेरो लागि अब परिवारभन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा छन्। राजनीतिले बिगारेको यो देश सुधार्न हामी बाध्यतावश राजनीतिक मैदानमा प्रवेश गरेका हौं,” प्रसाईंले पत्रकार सम्मेलनमा भने। उनले केही समयमै दलको नामसहित औपचारिक घोषणा गर्ने बताए।