हेटौंडा,। नेपाल तामाङ पत्रकार संघ, बागमती प्रदेश र मकवानपुर जिल्ला समितिको सयुक्त आयोजनामा ३१ औं तामाङ प्रसारण दिवसको अवसरमा ‘अन्तरक्रिया तथा पुरस्कार वितरण समारोह’ सम्पन्न भएको छ ।बागमती प्रदेशको बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तामाङ पत्रकार संघ बागमती प्रदेशले स्थापना गरेको ‘आईतेसिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता’ र मकवानपुर जिल्ला शाखाले स्थापना गरेको ‘तामाङ पत्रकारिता पुरस्कार’ वितरण गरिएको थियो । प्रदेश पुरस्कार तामाङ भाषामा २३ वर्षदेखि निरन्तर प्रकाशित तामाङ डाजाङका प्रकाशक अर्जुनबहादुर तामाङलाई नगद १० हजार १ सय रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो भने जिल्ला पुरस्कार हेटौंडा सन्देश डटकमका पत्रकार भुवन घलानलाई नगद ५ हजार सहित सम्मानपत्र प्रदान गरिएको थियो । ‘आईतेसिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता’ कोष युवा व्यवसायी तथा पत्रकार राजेश रुम्बा लामाले आफ्नो बुबा आमाको सम्झनामा स्थापना गरेको हो । कोष स्थापना गर्न मुख्यमन्त्रीले गरे २ लाख सहयोग मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले तामाङ पत्रकार संघ, बागमती प्रदेश समितिलाई अक्षयकोष स्थापनाको लागि व्यक्तिगत रुपमा रु २ लाख रुपैयाँ सहयोग गरेका छन । कार्यक्रमकै बीच मुख्यमन्त्री बानियाँले २ लाखको चेक पत्रकार संघका प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङलाई हस्तारण गरेका थिए । मुख्यमन्त्री बानियाँले सो रकम ‘बुबा छेमबहादुर बानियाँ–दाजु राजकुमार बानियाँ’ को स्मृतिमा अक्षय कोष स्थापनाको लागि हस्तारण गरिएको हो ।कार्यक्रममा लोकतान्त्रिक गणतन्त्रमा मातृभाषा संरक्षण गर्नु प्रदेश सरकारको दायित्व भएको बताउँदै मुख्यमन्त्री बानियाँले तामाङ भाषा, संस्कृति र परम्पराको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले जाति र भाषाको नाममा राजनिति गर्न नहुने र यसले गर्दा समाज विभाजन तर्फ जाने बताए ।कार्यक्रममा ‘सरकारी कामकाजी भाषाका रूपमा तामाङ भाषाको प्रभावकारी कार्यान्वयनमा सञ्चारमाध्यम तथा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया समेत गरिएको थियो ।