काठमाडौं ।नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नागरिक उड्डयन प्राधिकरणले पूर्ण गैरजिम्मेवार ठहर गर्दै निगमको एकाउन्टेबल म्यानेजर पदबाट बर्खास्त गरेको छ। प्राधिकरणले अधिकारीले तोकिएको जिम्मेवारी पूरा नगरेको र पटक–पटक निर्देशनको वेवास्ता गरेको भन्दै यस्तो निर्णय गरेको हो। उक्त निर्णयसँगै निगमको अपरेसन निर्देशक क्याप्टेन दिपुराज ज्वारचनलाई जिम्मेवारी दिइएको छ। प्राधिकरणका अनुसार अधिकारीले निगमका दुईवटा वाइडबडी जहाजमध्ये ए३३०–२०० सिरिजको दर्ता नम्बर ९एन–एएलवाई जहाज इटालीमा मर्मत गर्न अनुमति नलिई पठाएपछि उड्डयन सुरक्षामा गम्भीर लापरबाही गरेको पुष्टि भएको थियो। प्राधिकरणले गत वर्ष वैशाख १५, असार २० र साउन ४ गते निगमलाई उत्तरदायी प्रबन्धक तोक्न निर्देशन दिइसकेको थियो। तर निगमले पटक–पटक निर्देशनको पालना नगरेको र एअर अपरेटर सर्टिफिकेट (AOC) सम्बन्धी व्यवस्थालाई निरन्तर उल्लङ्घन गरेको पाइएको छ। प्राधिकरणले निगमलाई जहाज मर्मतका लागि उपयुक्त उत्तरदायी प्रबन्धक प्रस्ताव गर्न र नियम अनुसार कार्य नगरे थप कारवाही गरिने चेतावनीसमेत दिएको छ। यस निर्णयपछि अधिकारीले उड्डयनसँग सम्बन्धित कुनै पनि निर्णय गर्न पाउने छैनन् भने उनका निर्देशनहरू पनि लागू हुने छैनन्।