काठमाडौं । सर्वोच्च अदालतले १९ वर्षअघि रौतहटको गौरमा भएको हत्याकाण्डको अनुसन्धान गर्न परमादेश दिएको छ । विसं २०६३ साल चैत्र ७ गते गौरको राइस मिलमा तत्कालीन मधेशी जनाधिकार फोरम र नेकपा माओवादीले एउटै स्थानमा कार्यक्रम गर्न लाग्दा भएको झडपमा २७ माओवादी कार्यकर्ताको हत्या भएको थियो ।
घटनाको छानबिन गरी कारबाहीको माग गर्दै परेको रिटमा सर्वोच्चले परमादेश जारी गरेको हो । योसँगै हाल जसपा नेपालका अध्यक्ष रहेका उपेन्द्र यादवमाथि अनुसन्धान हुने भएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश जारी गरेको हो ।
घटनाको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने मागसहित पीडितहरुले रिट दायर गरेका थिए । गौर हत्याकाण्डमा मारिएकाको आफन्तहरूले जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा समेत छानबिन नभएको उनीहरुले रिटमा उल्लेख गरेका थिए ।
गौरमा रहेको राइस मिलमा तत्कालीन मधेशी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गरेका थिए । पछि मञ्चको विषयलाई लिएर उक्त कार्यक्रममा झडप हुँदा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो । हत्यामा तत्कालीन मधेशी जनअधिकारका अध्यक्ष समेत रहेका उपेन्द्र यादवलगायत फोरमसम्बद्ध नेता, कार्यकर्ताको हात रहेको रिटमा दाबी गरिएको थियो ।
पीडितहरुले तत्कालीन समयमा नै हत्याकाण्डविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा प्रहरीले छानबिन गरी दोषीमाथि मुद्दा दायर गर्न अस्वीकार गरेको थियो । सोपश्चात पीडितका परिवार तथा आफन्तले न्यायको लागि सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । पीडित परिवारका तर्फबाट त्रिभुवन साहले रिट दर्ता गराउँदै उक्त घटनाको पुनः अनुसन्धान र प्राप्त प्रतिवेदनका आधारमा मुद्दा दायर गर्न माग गरिएको थियो । मुद्दामा रौतहट प्रहरी, सरकारी वकिल कार्यालय, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ ।
यसरी भएको थियो गौर हत्याकाण्ड
विसं २०६३ साल चैत्र ७ गते (सन् २००७ मार्च २१) रौतहटको गौरस्थित राइस मिलमा मधेशी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टै मार्च बनाएर सभा गर्न लागेका थिए । सो क्रममा दुई पक्षबीच झडप भएको थियो । त्यसमा २७ माओवादी कार्यकर्ताको घटनास्थलमै मृत्यु भएको थियो । बाँकी एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा दुवै पक्षका थुप्रै कार्यकताहरु घाइते समेत भएका थिए ।
पर्सा, बारा र रौतहटमा र्याली गर्ने मधेशी जनअधिकार फोरमको योजनाअनुरुप रौतहट जिल्लास्तर समितिले २१ मार्चमा गौरको धान मिल क्षेत्रमा र्यालीको सार्वजनिक घोषणा तथा व्यवस्थित गर्ने अग्रिम तयारी थालेको थियो । मधेशी जनअधिकार फोरमको यो निर्णयको एक हप्तापछि नेकपा माओवादीले पनि सोही ठाउँमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्यो । र्यालीको दुई दिनअघिदेखि नै तनाव सिर्जना हुने आशा गरिएको थियो ।
तत्कालीन समयमा झन्डै १५ सयदेखि चार हजारको संख्यामा फोरमका समर्थकहरू बिहानदेखि नै खुँडा र भाटासँग जुलुस र ¥यालीको लागि गौर आइपुगेका थिए । फोरमका कार्यकर्ताहरु नेकपा–माओवादीका समर्थकहरूसँग भिड्ने तथा आक्रमण गर्ने तयारीका साथ उपस्थित थिए । तत्कालीन नेकपा–माओवादीका केही कार्यकर्ताले पनि बन्दुक र सकेट बमका साथै अन्य विस्फोटक उपकरणसँग उपस्थित थिए । यसरी झन्डै दिउसो १ः४५ बजे १५ जना हतियारधारीहरूले माओवादीको कार्यक्रम बिथोल्ने तथा तनावपूर्ण स्थितिको सिर्जना गरे र परिणाम उक्त कार्यक्रममा २७ जनाको हत्या भएको थियो ।