काठमाडौं । फाइनान्सहरुले एक अर्ब १९ करोड ९१ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । १७ मध्ये सोमबारसम्म १४ फाइनान्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेका छन् । सोही विवरणले उक्त नाफा देखाएको हो ।
फाइनान्स कम्पनीहरुले कमाएको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा नौ करोड १४ लाख ८२ हजार रुपैयाँले मात्र बढी हो । अघिल्लो आवको सोही अवधिमा फाइनान्सहरुको यस्तो नाफा एक अर्ब १० करोड ७६ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।
फाइनान्स कम्पनीहरुको नाफा सामान्य बढ्दा निष्क्रिय कर्जा भने बढेर १६ प्रतिशतसम्म पुगेको छ ।
सो अवधिमा आईसीएफसी फाइनान्सले ३४ करोड ४९ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त फाइनान्सको निष्क्रिय कर्जा एक दशमलव ८३ प्रतिशत छ । अघिल्लो आवको सोही अवधिमा आईसीएफसीको नाफा ११ करोड ३२ लाख ४३ हजार रुपैयाँ र खराब कर्जा तीन दशमलव ६८ प्रतिशत थियो ।
त्यसैगरी, मञ्जुश्री, पोखरा र प्रोग्रेसिभ फाइनान्सले पनि क्रमशः ३१ करोड ४३ लाख ८२ हजार, ११ करोड ३९ लाख आठ हजार र ११ करोड १९ लाख ३८ हजार रुपैयाँ खुद नाफा गरेका छन् । उनीहरुको खराब कर्जा क्रमशः तीन दशमलव ११, चार दशमलव ४९ र चार दशमलव ४४ प्रतिशत छ । अघिल्लो आवको सोही अवधिमा तीन फाइनान्सले क्रमशः २२ करोड ४६ लाख १५ हजार, १० करोड ६४ लाख ५९ हजार (ऋणात्मक) ११ करोड ६८ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएका थिए भने निष्क्रिय कर्जा क्रमशः तीन दशमलव २२, १० दशमलव शून्य एक र आठ दशमलव ९२ प्रतिशत थियो ।
गत आवको चौथो त्रैमासमा सेन्ट्रल, श्री इन्भेस्टमेन्ट र रिलायन्स फाइनान्सले पनि क्रमशः आठ करोड ९१ लाख ४८ हजार, छ करोड ९९ लाख ३० हजार र चार करोड २७ लाख चार हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः १४ दशमलव १८, दुई दशमलव ५७ र नौ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी फाइनान्सहरुले क्रमशः ३४ करोड १३ लाख ६३ हजार, छ करोड १६ लाख ५९ हजार र चार करोड २६ लाख नौ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । उक्त अवधिमा यी फाइनान्सहरुमा क्रमशः १३ दशमलव ३९, दुई दशमलव ८६ र छ दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
उक्तबाहेक समृद्धि र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले भने गत आवको चौथो त्रैमासमा क्रमशः तीन करोड १९ लाख ३५ हजार र दुई करोड ७९ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः नौ दशमलव ६६ र छ दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी फाइनान्सहरुले क्रमशः १३ करोड ६१ लाख २३ हजार र ३७ लाख ९८ हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा क्रमशः २० दशमलव २३ र छ दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
यसैगरी, मल्टीपर्पस र नेपाल र नेपाल फाइनान्सले भने पछिल्लो अवधिमा क्रमशः दुई करोड ३३ लाख २४ हजार र दुई करोड १७ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः पाँच दशमलव ४७ र नौ दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । अघिल्लो अवधिमा सोही अवधिमा भने मल्टिपर्पसले एक करोड ६४ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाउँदा नेपाल फाइनान्सले दुई करोड ८१ लाख ८१ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । उक्त अवधिमा यी फाइनान्सहरुमा क्रमशः चार दशमलव ३४ र १३ दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार गुडबिल र बेस्ट फाइनान्सले भने गत आवको चौथो त्रैमासमा क्रमशः ५१ लाख १९ हजार र २० लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः पाँच दशमलव ७६ र आठ दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा गुडविलले १४ करोड ८४ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाउँदा बेस्टले १० करोड छ लाख १४ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । उक्त अवधिमा यी फाइनान्सहरुमा क्रमशः चार दशमलव ८९ र पाँच दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
गोर्खाज फाइनान्सले भने गत आवको चौथो त्रैमासमा क्रमशः १२ करोड ७३ लाख ९४ हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा १६ दशमलव १० प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । अघिल्लो आवको सोही अवधिमा गोर्खाजले चार करोड २३ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाउँदा १२ दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।