काठमाडौं । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह र मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलबीच आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ ।
सहरी विकास मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहसँग चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव सिग्देलले कार्यसम्पादन सम्झौता गरेका हुन् । कार्यक्रममा मन्त्री सिंहले चालू आर्थिक वर्षमा गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन सम्झौतालाई इमानदारीपूर्वक पालना गर्न निर्देशन दिए । उनले अघिल्लो आर्थिक वर्षमा समयमा काम हुन नसक्दा लक्ष्य हासिल नभएकोमा असन्तुष्टि जनाए ।
समयमा योजनाहरु किन सकिएनन् ? भन्दै उनले प्रश्न पनि गरे । ‘कर्मचारीहरुले निर्वाह गर्नुपर्ने भूमिका इमानदार भएर पूरा गर्नुपर्यो । समयमा गर्नुपर्ने निर्णय समयमा हुनुपर्यो । पन्छिने प्रवृत्तिले समयमा काम हुन सक्दै । गर्नुपर्ने काम समयमा गर्नुस्, जनतालाई छिटो रिजल्ट दिनुपर्छ,’ उनले भने, ‘सहरी विकास मन्त्रालय विकास निर्माणसँग सम्बन्धित मन्त्रालय हो । नागरिकको प्रत्यक्ष चासो जोडिएको हुन्छ । जनतालाई छिटो नतिजा दिने गरी काम गर्नुपर्छ । यसमा सबै गम्भीर बन्नूस् ।’
उनले अघिल्लो आवमा भएका कमजोरी नदोहोर्याउन सचेत गराउँदै चालू वर्षमा मन्त्रालयका काम प्रभावकारी बनाउने गरी लाग्न सचिवसहित सबै विभागीय प्रमुखहरुलाई निर्देशन पनि दिए । कार्यक्रममा सचिव सिग्देलले गत आवमा आर्थिक प्रगति कम भए पनि भौतिक प्रगति राम्रो भएको भन्दै चालू आवमा कार्य लक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए । उपप्रधानमन्त्री सिंहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।