काठमाडौं ।सत्तारूढ नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने प्रक्रिया अघि बढाएका छन्। दुवै दलले यसका लागि सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेका छन्।कांग्रेस पदाधिकारीहरूको बैठक सकिएपछि सांसदहरूलाई सिंहदरबारस्थित दलको कार्यालयमा बोलाइएको छ भने एमालेले पनि आफ्ना सांसदलाई दुई बजेसम्म हस्ताक्षर गर्न सूचित गरेको छ। यसअघि सोमबार साँझ बालुवाटारमा कांग्रेस–एमालेका शीर्ष नेताहरूबीच बैठक बसेको थियो। उक्त बैठकमा महान्यायाधिवक्ता रमेश बडालसहित नेताहरूले सामाजिक सञ्जाल नियमनसम्बन्धी सर्वोच्च अदालतको निर्णय र उपसभामुख हटाउने विषयमा गहन छलफल गरेका थिए। उपसभामुख रानामाथि अमेरिकास्थित दूतावासमा आफ्नो लेटरप्याड प्रयोग गरी प्रयोगशालाका लागि भिसा सिफारिसपत्र पठाएको आरोप लागेको छ। यसअघि पनि उनलाई पदबाट हटाउने प्रयास भए पनि दलहरूबीच सहमति जुट्न नसकेपछि प्रक्रिया अघि बढेको थिएन।