वासिङटन । अमेरिकाले दक्षिण कोरिया र जापानबाट जहाज निर्माणको विज्ञताबारे सहयोग लिने भएको छ । चीनसँग प्रतिस्पर्धा गर्न पानीजहाज निर्माणको ज्ञान र क्षमता अभिवृद्धिका लागि दुई परममित्रराष्ट्रको सहयोग लिन लागेको समाचार संस्था एपीले उल्लेख गरेको छ । यसका लागि अमेरिकाबाट सांसदहरुको टोली दुई देशको भ्रमणमा जानेछन् ।
माथिल्लो सदन सिनेटका डेमोक्रेटिक सांसद ट्यामी डकवर्थ र एन्डी किम आइतबार कोरियाली राजधानी सोल पुगेका छन् । त्यसपछि उनीहरु जापान पुग्ने तालिका छ । जहाँ रहँदा उनीहरुले विश्वकै दोस्रो र तेस्रो जहाज निर्माता देशका विज्ञहरुसँग छलफल गर्ने बताइएको छ । एसिया प्रशान्त क्षेत्रमा अमेरिकी जलसेनाका लागि जहाज मर्मतसम्भार गर्न संयुक्त उपक्रम (जेभी) खडा गर्न सकिनेबारे सम्भाव्यता अध्ययन गर्ने र अमेरिकी शिपयार्डहरुमा लगानी गर्ने योजना रहेको बताइएको छ । ‘यसअघि नै हामीसँग कम क्षमता छ । सन् २००३ मा अपरेसन इराकी फ्रिडमका बेलाजति पनि हामीसँग अहिले क्षमता छैन’, डकवर्थले भने, ‘हामीले पुनः क्षमता बढाउनुपर्छ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी शिपयार्ड ब्युँताउने र विदेशी साझेदार भित्र्याउने योजना बनाइरहँदा दुई सांसदहरु कोरिया र जापानमा पुगेका हुन् । अमेरिकी सेना (पेन्टागन)ले आफ्नो वार्षिक बजेटमा शिपबिल्डिङका लागि ४७ अर्ब डलर खोजिरहेको छ । जलसैनिक जहाज निर्माणमा चीनभन्दा पछि परिरहेको कारण अमेरिका यसमा अग्रसर भएको हो । चीन अहिले विश्वकै पहिलो शिपबिल्डर हो ।