काठमाडौँ । राष्ट्रिय सूचना आयोगद्वारा मंगलबार आयोजित १९औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले हरेक नागरिकले आवश्यक पाउनुपर्ने तर कानुनले गोप्य राख्नुपर्ने वा सरोकार नै नभएका विषयमा सूचना थुपार्नका लागि माग्ने अभ्यासको अर्थ आफूले नबुझेको टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले भने, “यहाँ मतलबै नभएको विषयमा पेसेवार सूचनाको हक माग्नेहरु छन् । व्यक्तिका गोपनीयता र अनुसन्धानका क्रममा रहेका विषयमा पनि सूचना पाउनुपर्छ भनेर ढिपी गर्नेहरु छन् । समाज र राज्यमा कतिपय विषय गोप्य नरहने भन्ने हुँदैन । हामीले शपथ ग्रहण गर्दा आवश्यक काम पर्दाबाहेक प्रकट वा व्यक्त गर्ने छैन भन्ने शपथ लिएको हुन्छौँ । त्यसकारण हामी सबै आफ्नो अनुशासन र मर्यादामा रहँदै मौलिक हकको कार्यान्वयनमा लाग्नुपर्छ ।”
मौलिक हकको कार्यान्वयनका क्रममा देखिएका समस्यालाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिदै प्रधानमन्त्री ओलीले सरकार र सूचना आयोगबीच कुनै अधिकारको लडाइँ तथा तानातान नरहेको उल्लेख गरे । उनले सामाजिक सञ्जाललाई दर्ता र करको नियमनमा ल्याउने तथा समाजलाई व्यवस्थित गर्नुपर्नेमा सरकार स्पष्ट रहेको बताए ।