काठमाडौँ, उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापन भइरहेको बञ्चरेडाँडामा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भई पूरक वातावरणीय प्रतिवेदन तयार गर्ने कार्य अघि बढेको जानकारी दिएका छन्। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सिसडोल र बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटको पहुँचमार्गका विभिन्न विकल्पबारे अध्ययन भइरहेको जानकारी दिए ।
उपप्रधानमन्त्री सिंहका अनुसार ल्याण्डफिल साइटको करिब ४० मिटर उचाइको बाँधमध्ये हाल २५ मिटर बाँधसहितको सम्पूर्ण भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको छ । यसको सञ्चालनका लागि काठमाडौँ महानगरपालिकालाई उपलब्ध गराइएको र बाँधको उचाइ बढाउने कार्यको खरिद प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए ।
सिसडोल क्षेत्रमा फोहरबाट उत्पन्न ‘लिचेट’ व्यवस्थापन र स्थानीयवासीका विभिन्न माग यथासम्भव सम्बोधन गर्नेलगायत काम भइरहेको बताए । । उनका अनुसार फोहरमैला व्यवस्थित ढङ्गले बिसर्जन, फोहरबाट उत्पन्न ‘ब्याक्टेरिया’को नियन्त्रण, फोहरको वर्गीकरण गरी विद्युत् उत्पादन, कम्पोष्ट मल कारखाना स्थापना र कच्चा पदार्थ प्रशोधन केन्द्र स्थापना गर्ने विषयमा मन्त्रालयले काठमाडौँ महानगर र अन्य निकायसँग सहकार्य तथा समन्वय गरिरहेको छ ।
उपप्रधानमन्त्री सिंहले मन्त्रालयले फोहरमैला व्यवस्थापन ऐन, २०६८ संशोधन मस्यौदा परिमार्जन गर्ने कार्य गरिरहेकोसमेत जानकारी दिए । यसैगरी उनले जनता आवास कार्यक्रम हाल प्रदेश सरकारमा हस्तान्तरण भई कार्यान्वयनमा रहेको जानकारी गराए । “भौगोलिक रूपमा विकट र विपद्को उच्च जोखिमयुक्त स्थानका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गराउने र असहाय तथा सीमान्तकृत समुदायलाई व्यवस्थित बस्तीमा स्तरोन्नति गर्ने भनेर पूर्ववर्ती सरकारले गरेको निर्णयबाट हालको सरकार पछि हटेको छैन”, उपप्रधानमन्त्री सिंहले भने । उहाँले २०७२ सालको भूकम्पपश्चात् पुनर्निर्माणका लागि गठित केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, भवन तथा आवासमार्फत कार्यान्वयन भइरहेको जानकारी दिए । रासस